काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता उल्लंघन गरेको र अटेर गरेको भन्दै एक अनलाईन सञ्चालक र सम्पादकको पत्रकार परिचयपत्र खोस्ने भएको छ ।

पैसा बार्गेनिङ गरेको, महिलामाथि दुर्व्यवहार गरेकोसहित आरोपमा प्रेस काउन्सिलले बिहीवार फरकधार मिडियाका शिखर घिमिरेलाई कालोसूचीमा राख्ने र प्रेस कार्ड खोस्ने प्रक्रिया थालेको छ ।

घिमिरेले सूचना विभागबाट प्रेस कार्ड लिए, नलिएको, नीज नेपाल पत्रकार महासंघको सदस्य रहे, नरहेको खुलाई पठाउन काउन्सिलले ती दुवै निकायलाई पत्र पठाइसकेको छ ।

उनीविरुद्ध पैसा बार्गेनिङ गरेको, महिलामाथि दुर्व्यवहार गरेको भन्दै परेको उजुरीमा यसअघि नै काउन्सिलले बयानमा बोलाएको थियो ।
त्यसमा गम्भीर ढंगले छानवीन गरी काउन्सिलले ती पत्रकारको प्रेस कार्ड र महासंघको सदस्यताबारे प्रश्न उठाएको हो ।
काउन्सिलले पत्रकार आचारसंहिताको गम्भीर उल्लंघनको घट्नामा यस्तो कारवाही गर्ने गर्छ ।

घिमिरेले स्वस्थ र जिम्मेवार पत्रकारिता नगरेको, आचारसंहिता पालनामा प्रतिबद्ध समेत नदेखिएको भन्दै कालोसूचीमा राख्न आवश्यक गृहकार्य गरिरहेको काउन्सिलका एक सदस्यले जानकारी दिए ।

उक्त अनलाइनले पीत पत्रकारिता गरेको, अनावश्यक यातना दिएको, पैसा बार्गेनिंग गरेको भन्दै विभिन्न उजुरी परेका थिए । त्यस्तै, महिलामाथि दूव्र्यवहार गरेको, राति राति धक्काउँदै अश्लील मेसेज पठाएको लगायतका गम्भीर आरोप उजुरीमा थियो । ती सदस्यका अनुसार छानवीनका क्रममा घिमिरेमाथि गम्भीर खालका प्रश्न उठेका छन् । तर, सम्पादक घिमिरे न जवाफदेही भए, न सच्चिए । त्यही भएर ३ दिनभित्र किन कालोसूचीमा नराख्ने भनी हामीले अन्तिम पत्र पठाएका छौं, ती सदस्यले भने । पछिल्लो समय काउन्सिलले सीमा नाघी विषयवस्तु दिने, बार्गेनिंग गर्ने अनलाइनहरूलाई भटाभट कारवाहीको दायरामा ल्याएको छ ।

मध्यराति फोन गर्ने, दुर्व्यवहार गर्दै बार्गेनिङ समेत गरेको भन्दै एक कलेज सञ्चालकको उजुरी परेपछि उक्त अनलाइनलाई विशेष अनुगमनमा राखी छानवीन गरेको थियो । सहकर्मी पत्रकारमाथि हिंसा र दुर्व्यवहार गरेको भन्दै काउन्सिलले हालै पत्रकार माधवप्रसाद गुरागाइँलाई कारवाही गरेको थियो भने उनको मिडियालाई ब्लाकलिष्टमा राखिसकेको छ । यो घटना सेलाउन नपाउँदै घिमिरे विवादमा तानिएका हुन् ।
काउन्सिलले केही महिनाअघि कतिपयले पैसा बार्गेनिङ गरेको गुनासो बढ्दै गएकाले त्यसको प्रमाणसहित उजुरी आह्वान गरेको थियो । पछिल्लो ६ महिनामा काउन्सिलले ३ सय भन्दा बढी अनलाईनलाई कारवाही गरिसकेको छ ।

महिलामाथि हुने दुर्व्यवहारका घटनालाई समेत काउन्सिलले प्राथमिकता साथ सुनुवाई गरिरहेको छ । पत्रकार घिमिरेले पैसा बार्गेनिङ गर्दै आएको, अनावश्यक म्यासेज पठाउने गरेको उजुरीमा उल्लेख रहेको बुझिएको छ ।

घिमिरेविरुद्ध अरु थप २ वटा उजुरी समेत काउन्सिलमा विचाराधीन छन् । उजुरीमा उक्त मिडियाले ब्लाकमेलिङ गर्दै आएको, अनावश्यक आर्थिक सहयोग गर्नुपर्ने जस्ता म्यासेज कल गर्ने गतिविधी गर्दै आएको समेत उल्लेख छ ।

काउन्सिलले प्रेस परिचयपत्र खोसेपछि सम्बन्धित व्यक्तिको पत्रकारको परिचय रहन्न । विज्ञापनदातालाई समेत विज्ञापन रोक्नका लागि काउन्सिलले पत्र काट्न सक्छ । केही मिडियालाई दर्ता सूचीकरणबाट हटाई बन्दै गर्ने तयारीमा काउन्सिल टिम सक्रिय भएर लागेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय