काठमाडौं । एक वर्ष अघि मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको सर्जन बिकको हत्या भएको रहस्य खुलेको छ । शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पत्रकार सम्मेलन गरी दुई करोड रुपियाँभन्दा बढी रकमको बीमा भुक्तानी लिन बिकको हत्या भएको रहस्य सार्वजनिक गरेको हो ।
बाँकेको कोहलपुर बस्ने २१ वर्षीय बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहम्द खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा छन् । सीआईबीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो ।प्रहरीले छ जनालाई साङ्गठिक अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

हत्याको रहस्य
सर्जन बिकको २०७८ वैशाख २ गते राति बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । सर्जनलाई ट्रिपरमा बालुवा लोड गराउने भनि भे१०प१७२७ नम्बरको मोटरसाइकलमा गएका थिए । काम सकेर घर फर्किने क्रममा बैजनाथ गाउँपालिका–६ लालपुरको भित्री सडकमा विपरित दिशाबाट आएको मिनी बसले सर्जनलाई ठक्कर दिएको थियो । टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनी बसको ठक्करबाट सर्जनको मृत्यु भएको थियो ।
सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकोमा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई एक महिना कैद र दुई हजार रुपियाँ जरिवाना गरी छाडिएको थियो । मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी रिलायन्स इन्स्योरेन्सबाट दुई करोड ५० लाख रुपियाँ भुक्तानी लिएका थिए ।
मृतकको नजिकको हकवालाका रूपमा श्रीमती बनाइएकी सपना मल्लको बैंक खातामा इन्स्योरेन्स कम्पनीले दुई करोड ५० लाख रुपियाँ भुक्तानी दिएको थियो । बीमाबाट आएको रकम सञ्जीव अर्याल, दिपक केसी, छबि कुमारी खत्री(सपना मल्लको आमा), सपना मल्लले बाँडेर लिएको ब्यूरोले जनाएको छ ।

