काठमाडौं । सैनिक मुख्यालयले उच्च सैनिक अधिकारीहरुको सरुवा र बढुवा गरेको छ । सेनाले उपरथी ताराध्व पाण्डे, प्रदिपजंग केसी र निर्मल कुमार थापाको सरुवा गरेको हो ।
सैनिक ईण्टिलिजेन्स कोरमा कार्यरत सहायकरथी सागरबहादुर थापाको उपरथीमा बढुवा हुनुको साथै पदस्थापन समेत भएको छ । थापालाई कार्यरथी विभागको प्रमुख बनाइएको छ ।

सम्भारथी प्रमुख रहेका पाण्डेलाई सेनाको शक्तिशाली मानिने युद्धकार्य विभागको महानिर्देशक बनाइएको छ । उनी हालका प्रधानसेनापति प्रभुराम शर्मापछिका प्रधानसेनापतिका दाबेदार हुन् । पाण्डे र उपरथी अशोक सिग्देलमध्ये एक जना शर्माको उत्तराधिकारी बन्ने सम्भावना छ । सिग्देल पनि सेनाको महत्वपूर्ण मानिने नीतिमा प्रमुख छन् ।
सहायकरथी गणेश श्रेष्ठलाई सैनिक प्रशासन तथा व्यवस्थापन निर्देशनालय (वीरेन्द्र अस्पताल समेत हेर्ने गरी ), पवनराज घिमिरे राष्ट्रिपतिको मुख्य सुरक्षा अधिकृत, प्रकाश देउजा निर्देशक युद्धकार्य निर्देशनालय, शिशिरचन्द्र केसी उपत्यका कमाण्ड र सुन्दर पाण्डेको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालको निर्देशकमा सरुवा भएको छ ।
त्यसैगरी महासेनानीहरु रन्जित थापालाई सैनिक विशेष ईण्टेलिजेन्स निर्देशनालय, बालकृष्ण कार्की, सैनिक तालिम महानिर्देशनालय, लक्ष्मण थापा अभिलेखालयपति, मोहनचन्द्र गुरुङ सहायक बाहिनीपति २५ बाहिनी र अर्जुन बस्नेतको मध्य कमाण्ड हेडक्वाटरमा सरुवा भएको छ ।
त्यसैगरी महासेनानी शक्तिजंग बस्नेत सहायकरथीमा बढुवासहित बाहिनीपति ९ बाहिनी, महेश कुमार थापा बाहिनीपति २ बाहिनी, भुवनपूर्ण सत्याल उपत्यका कमाण्ड र द्रव्यराम भण्डारीको बाहिनीपति १३ बाहिनीमा बढुवासहित पदस्थापन भएको छ ।

