काठमाडौं । अनधिकृत रूपमा बनाइएका र एउटा प्रयोजनको लागि भनेर अनुमति लिएर अर्कै प्रयोजनमा प्रयोग गरिरहेका संरचनाहरूमा काठमाडौं महानगरपालिकाले डोजर लगाउन अभियान जारी रहने जानकारी दिएको छ । खास गरी पार्किङको लागि भनेर बनाएको संरचनामा अन्य व्यावसाय सञ्चालन गरेपछि पार्किङको समस्या भएको छ । महानगरको यस अभियानसँगै काठमाडौंमा पार्किङको समस्या समाधान हुने सर्वसाधारणको अपेक्षा छ ।

मेयर बालेन्द्र शाहको यस कदमको सर्वत्र चर्चा परिचर्चा भइरहेका बेला यसको तरङ्ग पोखरामा पनि पुगेको छ । पोखरा महानगरपालिकाले पनि महानगरभित्रका पार्किङका लागि बनाइएका संरचनाहरू पार्किङ प्रयोजनकै लागि प्रयोग गर्न सूचना जारी गरेको छ ।

सूचना जारी भएको ३५ दिनभित्र ती संरचनाहरू खाली गराउनुपर्नेछ । महानगरको सूचना बेवास्ता गरिए काठमाडौंमा जस्तै पोखरा महानगरले पनि एक्सन लिने भएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा रहेका अन्डरग्राउन्ड पार्किङहरूलाई पार्किङ कै रूपमा प्रयोग गर्न आग्रह गरेका हुन्।

महानगरपालिकाबाट राजश्व छुट लिएर पार्किङ प्रयोजनका लागि निर्माण गरिएका बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको भए महानगरले तोकेको समयावधि भित्र हटाउन समेत भनिएको प्रमुख आचार्यले स्पष्ट पारे।

‘राजश्व छुट लिएर पार्किङ बनाउने गरी अन्डरग्राउन्ड बनाएका घरहरूमा पनि अहिले सवारी पार्किङका लागि प्रयोग भएका छैनन्। लेकसाइडमा अधिकांश घरमा प्रयोग भएको छ। तर मुख्य सहरतिर त्यसो नभएकाले हामीले एक महिना अगाडि पार्किङ प्रयोजनलाई प्रयोग गर्नुहोला भनेर सबैलाई चिठी पठाइसकेका छौ’, उनले भने, ‘हामीले अरू पालिकाले सुरू गरेपछि गरेका होइनौँ एक महिना अघि नै यसको सुरुआत गरिसकेका हौ।’

‘पोखरा महानगरपालिका क्षेत्रभित्र पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तलासहितका भवनहरूको भूमिगत तलालाई पार्किङमा प्रयोग नगरी अन्य प्रयोगमा ल्याउनुभएका घरधनीहरूलाई आजका मितिले ३५ ९पैँतिस० दिनभित्र भूमिगत तलालाई खालि गरी पार्किङको रूपमा प्रयोगमा ल्याउनुहुन अनुरोध गरिन्छ । अन्यथा कानुनबमोजिम हुने बेहोरा जानकारी गराइन्छ,’ महानगरको सूचनामा भनिएको छ ।

पोखरा महानगर मेयर धनराज आचार्यका अनुसार एक महिना अगाडि नै महानगरले अन्डरग्राउन्ड पार्किङ प्रयोजनका लागि मात्रै प्रयोग गर्न र त्यहाँ खडा गरिएका व्यापारिक संरचना हटाउन पत्राचार गरेको थियो ।

पोखरामा करिब २५० वटा अन्डरग्राउन्ड सहितका भवन छन्। त्यसमध्ये करिब ६० वटा भवनले मात्रै प्रयोजन अनुरूप अन्डरग्राउन्डलाई पार्किङका रूपमा प्रयोग गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय