काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रतक्ष्य र समानुपातिक गरी १ सय ६५ सिट जित्ने दाबी गरेपछि सत्ता गठबन्धनका पार्टीहरुमा समेत खैलाबैला भएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा ओलीले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पनि आलोचना भएको छ । ओलीले प्रत्यक्ष कति सिट र समानुपातिक कति जित्ने भन्ने खुलाएका छैनन् । आफूलाई प्रधानमन्त्रीबाट हटाएकामा ओली खासगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग आक्रोशित छन् । ओली जसरी पनि यी दुई दललाई कमजोर बनाउने दाउमा लागेका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन हुँदै गर्दा पनि एमालेले सबैभन्दा ठूलो पार्टी हुन्छु भन्ने दाबी गरेको थियो तर पराजित भइसकेपछि उसले आफ्नो बचाउको लागि बोली फेरेको थियो ।

ओली आफ्नो फाइदाका लागि जुनसुकै दलसँग पनि बढी सिट दिएर भए पनि तालमेल गर्न तयार छन् तर प्रमुख पार्टीहरु एकतिर भएकाले ओली अहिले राप्रपाको आशामा मात्र बसेका छन् । राप्रपाले तालमेल गर्ने छनक दिएपछि ओली केही शान्त भएका छन् । हिजोका दिनमा आफूले पटक पटक गरेको प्रतिनिधिसभा विघटनलाई ठिक थियो भनेर उनी र उनका पार्टीका नेता तथा कार्यकर्ताले भ्रमसमेत छर्दै आएका छन् ।

निर्वाचन नजिकिँदै जाँदा नेताहरु गाउँ पसेका छन् । पार्टीले उम्मेदवार हुन चाहनेले पार्टीको कमिटीमा नाम दर्ता गराउन भनेपछि नेताहरु गाउँ पुगेका हुन् । कसैले आफैं उपस्थित भएर नाम दर्ता गराएका छन् भनें कसैले प्रतिनिधिमार्फत नाम दर्ता गराएका हुन् । सामान्य नेताले पनि आफू उम्मेदवार हुन्छु भनेर दाबी गर्न पाउने भएकाले पनि उम्मेदवारी दिनेको संख्या बढेको हो । केन्द्रले नै अन्तिम निर्णय गर्ने भएकाले अहिले प्रदेश वा प्रतिनिधिसभाको क्षेत्रबाट नाम नआएकाहरु पनि अर्कै बाटोबाट उम्मेदवार हुनेमा ढुक्क छन् । निर्वाचनको बेलामात्र गाउा आउने र अरुबेला गाउँ र जनताको मतलब नगर्ने भनेर नेताहरुलाई आरोप लाग्दै आएको छ । अहिले गाउँ पुगेका नेताहरु इमानदार भएका छन्, उनीहरुले हिजो सबै आफूले राम्रै गरेको र भोलिका दिनमा पनि जनताको पक्षमा काम गर्ने दाबी गरे पनि जनतामात्र नभएर पार्टीकै कार्यकर्ताले पनि नेताहरुमा अनेक प्रश्न उठाइरहेका छन् ।

एउटै व्यक्तिले पटक पटक टिकट पाउने सम्भावना बढ्दै गएपछि उनको विरुद्धमा पनि एक प्रकारको माहौल सिर्जना भएको छ । गत निर्वाचनमा पराजित भएकाले यसपालि स्वभाविक रुपमा उम्मेदवार हुने रहर गरेका छन् भनें अहिले सांसद् भइरहेकाहरु पनि उम्मेदवारको हकदार हुन् । कहिले पहिले हारेकालाई दिने, कहिले पहिले जितेकालाई दिने भन्दाभन्दै आफ्नो निर्वाचन क्षेत्रमा बसेर खटेका पार्टीका सच्चा कार्यकर्ता भनें ओझेलमा पर्ने गरेका छन् तर पार्टीको आदेश भन्दै पुरानै उम्मेदवारलाई फेरि पनि मतदान गर्ने सम्भावना पनि छ । अहिले धेरै क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु पनि आएका छन् । उनीहरुले क्षेत्र र जिल्लामात्र होइन देश नै बनाउने कुरा गरेकाले दलहरुप्रतिको वितृष्णालाई स्वतन्त्रले सम्हाल्न सके भनें परिणाम फरक हुने छ । स्वतन्त्रहरुले जित्दैनन् र उनीहरुको काम छैन भनेर नेताहरुले भन्दै आए पनि नेपालको प्रमुख शहर काठमाडौंमा महानगरपालिकामा वालेन्द्र शाहले मेयर जितेपछि फरक परिस्थिति सिर्जना भएको छ । अझै पनि दलहरु आफ्नो पक्षमा समर्थन जुटाउन स्वतन्त्रको विरोध गर्दै आएका छन् भनें निर्वाचित उनीहरुलाई काम गर्नै नदिने अवस्थामा समेत पुगेका छन् । स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएकाहरुको विरोधमा खासगरी एमाले लागेको छ ।

स्थानीय तहको निर्वाचनमा केही ठाउँमा प्रमुख जितेपछि स्वतन्त्रहरुको लहर नै चलेको छ । अबको निर्वाचनमा पनि जितिन्छ भनेर उनीहरु एउटा ठूलो योजनामा अघि बढिसकेका छन् । टिकट वितरणमा पार्टीको नेतृत्व हाबी हुने भएकाले अस्वभाविक उम्मेदवारले पनि टिकट लाने खतरा छ, यसको असर नकारात्मक नै पर्छ । कतै गठबन्धनका नाममा त कतै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका नाममा टिकट नपाउनेहरु तत्कालै पार्टी छोडेर अर्को पार्टीमा गएर उम्मेदवार बनेको उदाहरण स्थानीय तहमा पनि केही देखिए । जनताको मन जितेका नेताको लागि पार्टी कुन भन्ने विषय ठूलो नभएकाले उनीहरुले जुनसुकै पार्टीमा रहे पनि वा स्वतन्त्र नै उठे पनि निर्वाचन जित्दै आएका छन् । नेतृत्वले अझैसम्म टिकट वितरणको मापदण्ड बनाएको छैन । सत्ता गठबन्धनको दिनैपिच्छेजस्तो बसेको बैठक पनि बिनानिश्कर्ष टुंगिँदै आएको छ । गठबन्धनमा रहेका अरु दलहरु जसरी भए पनि नेपाली कांग्रेसलाई थोरै सिट दिने दाउमा छन् । कांग्रेसलाई दिने सिटको टुंगो लागेपछि मात्र अरु दलहरुको बीचमा भागवण्डा हुने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय