काठमाडौं । नेपाल प्रहरीमा थप एक एआइजीले अवकाश पाउन लागेसँगै रिक्त पदमा बढुवाको सरगर्मी बढेको छ । प्रहरी एकेडेमीमा कार्यरत एआइजी मुकुन्दराज आचार्यले बुधबारदेखि अवकाश पाउँदैछन् ।
उनको अवकाशसँगै प्रहरीमा एआइजीका दुई पद रिक्त हुनेछन् । विश्वराज पोखरेलको अवकाशसँगै यसअघि नै एक पद रिक्त भइसकेको छ । एकल बढुवा गर्दा विवाद हुने भएकाले दुई जनाको बढुवा गर्न लागिएको स्रोत बताउँछ ।

आचार्यको अवकाशसँगै एआइजी बढुवा हुने सम्भावना छ । एआइजीमा बढुवामा एक दर्जन डिआइजीहरु दाबेदार छन् । बरियताका आधारमा वसन्त कुँवर, अशोक सिंह, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, उमेशराज जोशी, रामदत्त जोशी, मीरा चौधरीलगायत छन् ।
तर, डिआइजी बढुवामै बरियता धेरै तलमाथि भएकाले त्यसको ठूलो अर्थ छैन । जसले पावर र पैसा लगाउँछ उही बढुवा हुने छ भन्ने कुरा डिआइजी बढुवामा भएको चलखेलले नै देखाइसकेको छ । त्यसकारण त्यतिखेर पैसा र पावर लगाएर बरियतामा अघि पुगेकाहरुकै सेटिङ अहिले पनि बलियो देखिएको छ । त्यो योजनाविरुद्ध अन्य डिआइजीहरु पनि सक्रियताका साथ शक्तिकेन्द्रमा धाइरहेका छन् । जसकारण दुई दुई एआइजीहरु रवीन्द्र धानुक र अरुण बिसीले अवकाश पाएपछि चार जनाको बढुवा गर्नुपर्ने भनेर केही दौडधुपमा छन् । जसकारण चुनावको मुखमा बढुवाको राजनीति चर्किएको छ ।

