काठमाडौं । काठमाडौं उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् ।
यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ । यात्रुलाई चाडपर्वको मौका छोपी ठगी गर्ने व्यक्तिमाथि निगरानी राख्नका लागि सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्र भट्टले जानकारी दिए। कार्यालयले दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी बनाएको कार्ययोजनाअनुसार एक हजार चार सय ६८ जनशक्ति परिचालन गरिएको छ ।

खराब अवस्थाका सवारीसाधन मर्मत नगरी सञ्चालन गर्दा दुर्घटना हुने गरेकाले ट्राफिक प्रहरीले त्यो नियन्त्रणका लागि ठाउँठाउँमा ‘मेकानिकल चेकिङ’ गरिरहेको प्रवक्ता भट्टले जानकारी दिए। आजसम्मको सवारीसाधन खराब अवस्थामा सञ्चालन गर्ने ९८ लाई कारवाही गरिएको छ । कतिपय सवारी साधनमा हातले लाग्ने ब्रेक काम नगर्ने र कतिपयको पाङ्ग्रा खराब अवस्थामा पाइएको उनले बताए। उनले भने, “पाङ्ग्रा नै प्वाल पर्न लागेको अवस्थामा समेत चलाएको पाइएको छ ।”
कार्यालयले यातायात व्यवस्था विभाग, यातायात व्यवसायीलगायतको समन्वयमा उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । आज बिहानसम्म दुई जना यात्रुको मात्रै गुनासो आएको प्रवक्ता भट्टले बताए। लामो दूरी लक्षित गरी कलङ्की, थानकोट, हलचोक, माछापोखरी, चावहिल, सातदोबाटो, बल्खु, कोटेश्वर, पुरानो बसपार्कमा यात्रु सहायता कक्ष रहेका छन् ।
उपत्यकाको विभिन्न स्थानमा नियमित ३६ स्थानमा जाँच गरिँदै आएकामा अहिले चाडपर्वमा लक्षित गरेर ३५ स्थान थप गरिएको कार्यालयले जनाएको छ । उपत्यकामा धेरै एकै पटक बाहिरिएर सडक चाप कम हुँदा तीव्र गतिमा र मादक चलाउने हुँदा त्यो नियन्त्रणका लागि जाँच बढाउन लागिएको हो ।
काठमाडौँ उपत्यकाबाट बाहिरिने नाकाहरुको सवारी साधन जाँचमा कडाइ गरिएको कार्यालयले जनाएको छ । उपत्यकाबाट बाहिरिने स्थानमा सिट क्षमताका आधारमा यात्रु राखेको वा नराखेको, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएको वा नचलाएको, दुई जना चालक राखेका वा नराखेको, सवारी साधनको बिमा गरेको वा नगरेको र सवारीसधनको अवस्था कस्तो छ जाँच गरिरहेको उनले जानकारी दिए।

