पोखरा । पोखराको विन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अध्यक्षसहित ३ जना पक्राउ परेका छन् । पोखरा–९ मा रहेको सहकारीको करिब ७ करोड रुपैयाँ रकम हिनामिना गरेको आरोपमा कास्की प्रहरीले सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र सहकारीको जग्गा खरिद गरेका उदित पौडेललाई पक्राउ गरेको हो ।
गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालयले विन्दवासिनी सहकारीको छानबिन प्रतिवेदन कास्की प्रहरीलाई बुझाएसँगै प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । सहकारीको रकम हिनामिनासहित ठगी मुद्दामा सोमबार पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ । सहकारी ठगि मुद्दामा पक्राउ परेकाहरुको विस्तृत अध्ययन तथा अनुसन्धान हुँदै गरेको प्रहरी निरीक्षक तिलक मानन्धरले बताए ।

सहकारीका सचिव गंगाधर सुवेदी भने दुई सातादेखि सम्पर्कविहीन भई फरार भएको बताइएको छ । उदित सन्दिप पौडेल पोखरा–८ मा रहेको लेक सिटी हस्पिटल एण्ड क्रिटिकल कियर प्रालिका अध्यक्ष हुन् । बर्दियाका पौडेलसहित कैलालीकी रेजिना विष्टले सहकारीको जग्गा खरिद गरेका थिए ।
अध्यक्ष नकर्मी र सचिव सुवेदीले मिलेर कार्यसमितिका अरूको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनमा उल्लेख छ । ५ करोड ५० लाखमा जग्गा खरिद गरी केही समयमा घाटा खाएर ३ करोड ५९ लाखमा बिक्री गरी रकमसमेत हिनामिना गरेको रजिष्टार कार्यालयले जनाएको छ ।

