काठमाडौं । सुख्खा र हावाहुरीको मौसमसँगै देशमा आगलागीका घटना बढेका छन् । शनिबार मोरङ, तेह्रथुम र भोजपुरमा आगलागी हुँदा ठुलो जनधनको क्षति भएको छ । मोरङको रंगेली–३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेका छन् । शनिबार दिउँसो भएको आगलागी निकैबेरपछि नियन्त्रणमा आएको प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धि चौलागााईँले जानकारी दिए ।

बाक्लो बस्ती रहेकाले आगलागीका कारण धेरै घरमा क्षति पुगेको उनको भनाइ छ । १९ घरधुरीका २५ परिवार आगलागीबाट विस्थापित भएको रंगेली नगरपालिका उपप्रमुख गोमा पराजुलीले बताइन् ।

विस्थापित परिवारलाई स्थानीय सरकारले राहत उपलब्ध गराउन थालिसकेको उपप्रमुख पराजुलीको भनाइ छ । कानेपोखरी गाउँपालिका, रंगेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरँैचा नगरपालिका र विराटनगर महानगरका बारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब ३ घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो । घटनाबाट भएको क्षतिको पूर्ण विवरण भने संकलनकै क्रममा रहेको बताइएको छ ।

यस्तै, भोजपुरको हतुवागढी–७ पिप्लेमा शनिबार आगलागी हुँदा एकैघरका ३ बालबालिकाको जलेर मृत्यु भएको छ । कोसी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुँवर खापुङका अनुसार केदार कार्कीको गोठमा दिउँसो आगलागी हुँदा त्यहाँ खेलिरहेका एकै परिवारका ७ वर्षीया दिपशिखा कार्की, ५ वर्षीय प्रनिश कार्की र ३ वर्षीय दियुनिष कार्कीको जलेर मृत्यु भएको हो । मृतक बालबालिका केदार र उनका भाइ रमेशका छोराछोरी भएको खापुङले बताए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शनिबार नै भोजपुरकै टक्सार बजारमा आगलागी हुँदा ७ घर जलेको प्रहरीले बताएको छ ।

यसैगरी, तेह्रथुमको आठराई गाउँपालिका–१ संक्रान्ति बजार नजिकै गाउँमा भएको आगलागीमा ४ वटा घर जलेका छन् । प्रहरीका अनुसार स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम, गोविन्द गौतमको घर र २ वटा गोठ जलेका हुन् ।

आगोले स्थानीयको घरसहित कपडा, अन्न, केही चौपायासहित धनमाल जलेको छ । नजिकै रहेको जंगलमा लागेको डढेलो बस्तीमा आइपुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय