काठमाडौं । सत्ता गठबन्धन दलहरूबीच प्रदेश सरकारको नेतृत्वको भागबन्डा भएको छ । सोमबार बसेका गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले सातै वटा प्रदेशको मुख्यमन्त्री क–कसले लिने भन्नेबारे सहमति जुटेको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा प्रदेश सरकारको नेतृत्व भागबन्डा गरिएको हो ।सहमतिअनुसार कोसी, गण्डकी र कर्णाली गरी ३ वटा प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्नेछ भने बाग्मती र लुम्बिनी प्रदेश सरकारमा माओवादी केन्द्रले नेतृत्व गर्नेछ ।

यसैगरी, मधेसको मुख्यमन्त्री जसपाले पाउने सहमति भएको छ भने सुदूरपश्चिममा भने नागरिक उन्मुक्ति र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सोमबार भएको सहमतिअनुसार हाल बाग्मतीमा माओवादीका जम्कट्टेल मुख्यमन्त्री छन् भने यसपछिको आधा कार्यकाल नेकपा एसले पनि मुख्यमन्त्री पाउने भएको छ ।
कांग्रेस नेतृत्वमा सरकार रहेको लुम्बिनी प्रदेशमा अब माओवादीका मुख्यमन्त्री बन्नेछन् भने माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री रहेको कर्णालीमा एमालेले सरकार बनाउने छ । यसका लागि माओवादी अध्यक्ष प्रचण्डले कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललाई मुख्यमन्त्री एमालेलाई दिन निर्देशन दिएका छन् । शर्माले आज मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए ।

