काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती बलात्कारको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश गरेको छ ।
न्यायाधीशहरू हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश गरेको हो ।

‘पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट प्रजनन अंगसँग सम्बन्धित ‘हाइमेन ओल्ड टिअर’ भन्ने देखिएको छ, पीडित र प्रतिवादीबीच यसभन्दा पहिले पनि वैवाहिक जबर्जस्ती करणी र सम्बन्धविच्छेद मुद्दा चलिरहेको अवस्था देखिएको छ,’ सर्वोच्चले थुनामा पठाउने आदेश दिँदै भनेको छ, ‘सम्बन्धविच्छेद र वैवाहिक जबर्जस्ती करणी मुद्दा चली आपसी सम्बन्ध नै विवादमा रहेको अवस्थामा सहजै एक्लै पीडितको कोठामा जाने विषय स्वाभाविक देखिँदैन, यी समग्र परिस्थिति र प्रमाणलाई आधार मान्दा अहिले नै यी प्रतिवादी कसुरदार रहेनछन् भन्न सकिने अवस्था छैन ।’
जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाधीश गिरीकी पत्नीले आफूमाथि बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले जिल्ला न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले वैवाहिक बलात्कारको मुद्दा चलाएपछि जिल्ला र उच्च अदालतले गिरीलाई धरौटीमा रिहा गरेका थिए । मुद्दा दायर भएपछि न्यायाधीश गिरी निलम्बनमा छन् । गिरी र आरतीबीच १२ असार २०७५ मा विवाह दर्ता भएको थियो । आरती गिरीकी दोस्री पत्नी हुन् । त्यसपछि सम्बन्धमा केही खटपट आएपछि गिरीले २०७६ साल मंसिरमा कैलाली जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका थिए ।

