काठमाडौँ । गर्मी बढेसँगै आगलागीका घटनामा वृद्धि भएको छ । शनिबारदेखि आइतबारसम्ममा देशभर १३८ सामुदायिक वन र विभिन्न जिल्लामा गरी सयभन्दा भन्दा बढी घर जलेर खरानी भएका छन् भने १ वृद्धाको मृत्यु भएको छ । कतै वनको आगोले घर सल्किएका छन् भने कतै बिँडी, चुरोट खाँदा उम्किएर आगलागी भएका छन् । आगलागीका कारण अर्बौंको क्षति भएकोे छ ।
रुकुम पश्चिममा भएको आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको हो । आइतबार दिउँसो बाँफीकोट गाउँपालिका–३ दारकाट्यामा ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको हो ।

बाँफीकोट–३ का वडाध्यक्ष तिलवीर केसीका अनुसार घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न घरभित्र छिरेकी कामीको जलेर मृत्यु भएको हो । यो समाचार तयार पार्दासम्म वन क्षेत्रबाट गाउँतर्फ फैलिएको आगोले ६ वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट भएको भौतिक क्षतिको विवरण भने संकलन हुन बाँकी छ ।
कैलालीमा १० बिघाको गहुँ नष्ट
कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–६ का १५ किसान परिवारको १० बिघा गहुँ खेतमा आगलागी हुँदा बाली जलेर नष्ट भएको छ । जोशीपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बाली काटेर खेतमा सुकाइराखेको अवस्थामा शनिबार आगलागी भएको जानकारी दिए ।
प्रहरी र स्थानीयबासीको प्रयासमा आगो निभाउने प्रयास गरिएको थियो । जोशीपुरकै एक किसानको १३ कठ्ठा क्षेत्रफलको गहुँबालीमा पनि २ दिनअघि आगलागी भएको थियो । भजनी, बर्दगोरियालगायत क्षेत्रको गहँुबालीमा पनि आगलागी भएको छ । आगलागीबाट पुगेको क्षतिको थप विवरण आउन बाँकी छ ।
केही दिनदेखि गर्मी बढेसँगै मध्याह्नको समयमा चल्ने हावाहुरीका कारण आगलागीका घटना बढाउन मद्दत पु¥याइरहेको स्थानीयबासीले बताएका छन् ।
गहुँ काटेर खाली रहेको खेत (गहुँको नलमा) मा पनि आगलागी भइरहेको छ । गहुँबाली काटेर खाली भएको खेतमा लागेको आगो निभाउने क्रममा गौरीगंगा नगरपालिकाका वीरबहादुर साहु जलेर घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गर्मीसँगै वन क्षेत्रमा पनि डढेलो लाग्ने घटना बढेका छन् । अग्नि नियन्त्रण रेखा बनाएर डढेलो रोकथामको प्रयास गरिए पनि पूर्ण रूपमा डढेलो नियन्त्रणमा कठिनाइ भइरहेको बताइएको छ ।
४ दिनअघि ३७ दशमलव ४ डिग्रि सेल्सियस रहेको धनगढीको अधिकतम तापक्रम बढेर शुक्रबार ४० दशमलव ६ डिग्री सेल्सियस पुगको थियो । यस्तै २० डिग्री सेल्सियस न्यूनतम तापक्रम बढेर २२ दशमलव ६ डिग्री पुगेको थियो । आइतबार तापक्रम अघिल्ला २ दिनको भन्दा केही कम मापन भएको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहले जानकारी दिए ।
बाँकेका ६३ सामुदायिक वनमा डढेलो
बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो लाग्न सुरु भएको छ । डढेलोका कारण वनमा ठुलो धनजनको क्षति नभए पनि जीवजन्तु संकटमा परेको शमशेरगन्ज सबडिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुुशील सुवेदीले जानकारी दिए । खासगरी जिल्लाको राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाको सामुदायिक वनमा डढेलो लागेको छ । वन अधिकृत सुवेदीले अहिलेसम्म जिल्लाका ६३ सामुदायिक वनको १०० हेक्टर क्षेत्रफलमा डढेलो लागेको जानकारी दिए ।
उनले दिउँसो घाम र तातो हावा चलेकाले शनिबार राति मात्रै डढेलो नियन्त्रणमा लिइएको बताए । उनले चक्ला वन क्षेत्रको ५०० हेक्टर क्षेत्रफलमा डढेलो लागेको उल्लेख गर्दै गत वर्षभन्दा यस वर्ष धेरै सुख्खा भएकाले डढेलो फैलिएको बताए । डढेलो लागेको वनमा ७०० लिटर क्षमताको ट्यांकी भएको पाइपसहितको गाडीमार्फत् पनि अग्नि नियन्त्रणमा लिइएको जानकारी दिँदै वन अधिकृत सुवेदीले अग्नि हेरालु ८ जना परिचालन भएको उल्लेख गरे ।
‘फायरलाइन बनाउने र त्यसलाई सफा गर्ने, समुदायस्तरमा जनचेतना फैलाउने र समुदायलाई नै परिचालन गर्ने काम गरिरहेका छौँ,’ उनले भने । शनिबार मात्रै भएको आगलागी नियन्त्रणमा लिन एउटा दमकलको प्रयोग हुनुका साथै सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोग लिनुपरेको बताइएको छ । शमशेरगन्ज सबडिभिजन कार्यालय, बाँकेका अनुसार राप्तीसोनारी–२ को कोटहीमाई सामुदायिक वन उपभोक्ता समिति, समयभवानी सामुदायिक वन उपभोक्ता समिति र कोहलपुरको रानी सामुदायिक वन उपभोक्ता समितिमा सबैभन्दा बढी डढेलो लागेको थियो ।
‘निकुञ्जको उत्तरतर्फबाट लागेको आगो अहिले दक्षिणतर्फ सल्केको छ,’ सुवेदीले भने । उनका अनुसार डढेलोका कारण वनमा रहेका हरिण, बँदेललगायत जनावर विस्थापित भएका छन् ।

