उदयपुर । चुरे जंगल क्षेत्रका वन्यजन्तु संकटमा पर्दै गएका छन् । हरेक वर्ष लाग्ने डढेलो र वन विनाससँगै सुक्खायाममा खानेपानीको स्रोत सुक्दै र बासस्थान मासिँदै जाँदा वन्यजन्तु संकटमा परेका हुन् । उदयपुर, सिराहा र सप्तरीको सिमानामा पर्ने चुरे जंगलमा डढेलो र वन विनासका कारण वर्षेनी पानीको स्रोत सुक्दै गएको छ ।

पछिल्लो समय चुरे संरक्षणको नाममा कार्यक्रम सञ्चालन गरिए पनि पानीको स्रोत बचाउन सकिएको छैन । त्यसैले चुरे जंगल क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु सालक, निलगाई, हरिण, जरायो, घोरल, बँदेललगायतका वन्यजन्तु संकटमा परेका छन् । चुरे क्षेत्रमा हुने अतिक्रमण र तस्करीका कारण हरिया रुख नष्ट हुँदा पानीको स्रोत सुक्दै गएको छ ।

वन संरक्षणको नाममा सामुदायिक वनले रुख कटान गरेर काठ बिक्री गर्दा र सालन्य ढडेलो लाग्दा पनि चुरे क्षेत्रका हरियो रुख मासिएका छन् र पानीको स्रोतमा असर पारिरहेको छ । सुक्खायाममा पिउने पानी नहुँदा वन्यजन्तु पानीका लागि चुरे तलका मानव बस्तीमा आउने गरेका छन् । मानवबस्ती नजिकै आएपछि सिकारीले सिकार गर्ने, वन्यजन्तुलाई अनावश्यक दुःख दिने, कुटने, खेद्नेलगायतका काम हुँदा आफै मर्ने गरेका छन् ।

‘पानीकै कारणले पनि वर्षेनी वन्यजन्तुको विनास हुँदैछ,’ चुरे तलको त्रियुगा नगरपालिका–५ का केशव पौडेलले भने, ‘स्थानीयले दुर्लभ र संकटमा परेको वन्यजन्तुको संरक्षण गर्नुपर्छ भन्ने कुरा नबुभ्mदा वन्यजन्तु मासिँदैछन् ।’ जंगलमा पानी अभाव भएकाले पनि वन्यजन्तुलाई बाँच्नका लागि समस्या भएको उनले बताए । सरकारले वन्यजन्तुको आरक्षण क्षेत्रमा मात्रै संरक्षणको ठोस नीति लिएको छ । अन्य क्षेत्रको जंगलमा पाइने वन्यजन्तुको संरक्षणको जिम्मा वन संरक्षणसँगै गर्ने गरिएकाले पनि यस्तो संकट पर्दै गएको हो ।

‘संरक्षण गर्नुपर्छ, दुर्लभ वन्यजन्तुको सिकार गर्नु हुँदैन भन्ने सर्वसाधारणलाई ज्ञान हुँदाहुँदै पनि जंगलमा खानेपानी अभाव हुँदा वन्यजन्तु लोप हुने अवस्थामा पुगेका छन्,’ सुन्दरपुरका देवी बस्नेतले भने, ‘आरक्षण क्षेत्रभन्दा बाहिरका वन्यजन्तुको संरक्षणका लागि पनि सरकारले संरक्षणको नीति ल्याउनु अति आवश्यक छ ।’ संरक्षण र पानी अभावकै कारण चुरे क्षेत्रका वन्यजन्तु संकटमा पर्दै गएको उनले बताए । चुरेको उत्तर उदयपुर, दक्षिणतर्फ सिरहा र सप्तरी जिल्ला छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय