काठमाडौं । सरकारले सेयर कारोबारमा लिइँदै आएको ब्रोकर कमिसन घटाएको छ । नेपाल धितोपत्र बोर्डको प्रस्तावअनुसार अर्थ मन्त्रालयले सहमति दिएसँगै जेठ १ देखि नयाँ दर लागु हुने भएको हो ।
बोर्डको आइतबार बसेको वैठकले जेठ १ देखि नयाँ दर कार्यान्वयन गर्ने निर्णय गरेको एक सञ्चालकले बताए । ‘टीप्लस टु’को अभ्यासअनुसार दुई दिनपछि नै कार्यान्वयन गर्न सकिने भए पनि बोर्डले नयाँ महिनादेखि लागु हुने गरी निर्णय गरेको हो । ‘गत कात्तिकमै सञ्चालक समितिले ब्रोकर कमिसन घटाउने गरी नियमावली संशाोधन गर्ने निर्णय गरेको थियो, तर अर्थ मन्त्रालयको सहमति पाउन सकिएको थिएन,’ बोर्डका एक सञ्चालकले भने ।

अर्थको सहमति आएपछि जेठ १ देखि लागु हुन लागेको हो । हाल सेयर कारोबारमा लगानीकर्ताले तिर्दै आएको ब्रोकर कमिसन जेठदेखि १० प्रतिशत घट्नेछ । हाल कारोबार रकमको अधिकतम ०.४० प्रतिशतसम्म ब्रोकर कमिसन दर तोकिएको छ । एक पटकमा हुने ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत ब्रोकर कमिसन लाग्छ । अब यसलाई ०.३६ प्रतिशतमा झारिनेछ । यस्तै ०.२७ प्रतिशत रहेको तल्लो सीमालाई घटाएर ०.२४ प्रतिशत कायम गरिने भएको छ ।
कारोबार रकमका आधारमा ब्रोकर कमिसन लाग्ने गरेको छ । ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० र १ करोडमाथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।

