काठमाडौँ । रोजगारीको प्रलोभनमा भारतको कश्मिर पु¥याएर बन्धक बनाइएका ३६ जना नेपालीको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरूलाई उद्धार गरी नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको छ । नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मिर पुर्याई बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो ।

कश्मिर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिकसमेत नदिई कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरूको गुनासो छ । मंगलबार दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली लगिएको थियो ।

उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले काम गर्नका लागि भनेर लगिएको, तर काम गर्नभन्दा गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाउने गरेको बताए । उनले खाना पनि राम्रोसँग खान नदिने गरेको बताए । नालाको काम भनेर लगेकामा छतको काम गर्न लगाएको उनको भनाइ छ ।

त्यस्तै, धनुषाका रञ्जित चौधरीले मोबाइल, नागरिकता, पैसा सबै खोसेर राखेको जनाए । काम लगाउनेले मार्नेसम्मको धम्की दिएको उनले बताए । काम भनेको नमाने आतंकवादी भनेर पक्राउ गर्न लगाउने धम्की दिने गरेको उनको भनाइ छ । झन्डै ३ महिना बन्धक बनाएपछि दिल्लीस्थित नेपाली दूतावास, जम्मु कश्मिर पुलिस, क्राइम ब्रान्च, सिआरपिएफको सहयोगमा उनीहरूलाई उद्धार गरी दिल्ली पुर्याइएको हो ।

घटनामा संलग्न २ जना अभियुक्तलाई पनि पक्राउ गरिएको बताइएको छ । घटनामा संलग्न मुख्तकिम आलम र मो. साजादलाई पक्राउ गरिएको छ भने जमाल मन्सुरी र मलिम मन्सुरी फरार छन् । उनीहरूविरुद्ध मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय