काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढुंगाखानीबाट रोडा ढुंगा उत्खनन गर्दा भ्रष्टाचार गरेको भन्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीसहित १४ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर संगै मेयर र उपमेयर दुबैजन स्वतः निलम्बनमा परेका छन् ।

उनीहरूविरुद्ध नदीजन्य पदार्थको ढुंगा, गिटी बालुवासहितका सामग्रीहरू सरकारी दररेटभन्दा कम कायम गरी ठेक्का दिएको तथा राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको आरोप छ । अख्तियारले पेस गरेको अभियोगमा उनीहरूमाथि १ अर्ब ४ करोडको बिगो मागदाबी गरिएको छ । राजस्व हिनामिनामा बिगो र बिगोको दोब्बर जरिमाना तथा भ्रष्टाचार निवारण ऐनअनुसार कैद पनि गर्न माग गरिएको छ ।आर्थिक वर्ष २०७५/०७६ देखि ०७९/०८० को अवधिमा खानीजन्य ढुंगागिट्टी र बालुवाको टेन्डर लगाउँदा सरकारी दरभन्दा कममा लगाएर हानिनोक्सानी पुर्याएको अभियोग उनीहरूविरुद्ध छ । उक्त मुद्दामा मेयर महर्जन र उपमेयर अधिकारीसहित तत्कालीन प्रशासकीय अधिकृत, अन्य जनप्रतिनिधि र ठेकेदारसमेतलाई अख्तियारले प्रतिवादी बनाएको छ ।

अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेसँगै मेयर, उपमेयर र कर्मचारीहरू स्वतः निलम्बन भएका छन् । उनीहरू भ्रष्टाचार निवारण ऐनको दफा ३३ अनुसार निलम्बनमा परेका हुन् । दफा ३३ मा कुनै राष्ट्रसेवकमाथि भ्रष्टाचार जस्ता विषयमा मुद्दा दायर भएमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था गरिएको छ । मेयर महर्जन र उपमेयर अधिकारी २०७४ सालदेखि गोदावरीको नेतृत्वमा रहँदै आएका छन् ।मेयर र उपमेयर दुवै जना एकै पटक निलम्बनमा परेपछि स्थानीय सरकार कसले चलाउने ? भन्ने बहस सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय