काठमाडौँ । भ्रष्टाचार मुद्दा परेर निलम्बनमा परेका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध अर्को पनि भ्रष्टाचार मुद्दा दर्ता भएको छ । मेयर थापासहित ६ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मेयर थापा, उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसमेत ६ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत प्रतिवेदन तथा गलत लिखत तयार गरी भ्रष्टाचार गरेको दाबीसहित मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको छ । यसअघि २८ चैतमा अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको अख्तियारको दाबी छ । ताल निर्माणमा अनियमितताको आरोपसहित अख्तियारले बागमती नगरपालिकाकी उपमेयर मोक्तानविरुद्ध पनि मुद्दा दायर गरेको छ । मोक्तानलाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो मागदाबी लिएको छ ।

अख्तियारले नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिमाना मात्रै मागदाबी गरिएको छ । उनीहरूमाथि भरत ताल निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिटी, बालुवालगायत नदीजन्य पदार्थको बिक्रीवितरणमा अनियमितता गरेको उजुरी परेको थियो ।

सागरनाथ वन विकास परियोजनाअन्तर्गतको वन क्षेत्रमा स्वीकृति नलिई माछा पोखरी निर्माण गरेको आरोप लगाएको छ । भरत ताल नाम राखिएको उक्त माछा पोखरीको प्रारम्भिक परीक्षण प्रतिवेदन स्वीकृत नभएको अख्तियारको दाबी छ । तर, मेयर थापालगायतले गलत कागजात तयार गरेको र नगर कार्यपालिकाबाट माछा पोखरीको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार नगरेको आरोप अख्तियारको छ । नगरपालिकाले सागरनाथ वन परियोजना र नेपाल सरकारको स्वीकृतिबिना बागमतीको बहाव प्रयोग गरेर ताल निर्माण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय