काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवासमा बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि मार्ग प्रशस्त गर्न आग्रह गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने, ‘सबैभन्दा ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने भनेपछि प्रधानमन्त्री मार्ग प्रशस्त गर्नुपर्छ, उहाँले अब मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ, अरू दलको पनि समर्थन घोषणा भइरहेको छ, त्यसैले हामीले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छौँ ।’
कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सत्ता समिकरण बनेपछि पनि प्रधानमन्त्री दाहालले संसद्को सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका बेला नयाँ सत्ता समिकरणको मुख्य दल नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो आग्रह गरेको हो ।
एमाले र कांग्रेसबीच गठबन्धनसहितको राष्ट्रिय सरकार बनाउने सहमति अनुसार संसदको बाँकी कार्यकाल नेपाली कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । उनीहरूबीच संविधानको धारा ७६ (२) अनुसार नै सरका गठन गर्ने सहमति भएको हो ।

