 
							काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान कार्यकालमा सरकारी निवास बालुवाटरमा पार्टीका कुनै पनि बैठक नराख्ने घोषणा गरेका छन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै उनले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म कुनै पनि पार्टीका बैठक सरकारी निवास बालुवाटारमा नराख्ने घोषणा गरेका हुन्। यसअघिको कार्यकालमा पार्टीको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक समेत बालुवाटारमै राखिएको भन्दै आलोचना भएपछि यसपटक प्राप्त सुझावको आधारमा बालुवाटरमा कुनैपनि बैठकक नराख्ने समाजिक सञ्जाल फेसबुकबाट घोषणा गरेका छन् ।

एमालेले आज सचिवालय बैठक बोलाएको छ। तर, सोमबार राति आएको भीषण वर्षाले पार्टी मुख्यालय च्यासलमा पानी पसेपछि आजको बैठक सिंहदरबारको दक्षिण गेट अगाडी रहेको होटल बसेरामा राखिएको छ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘शुभ बिहानी । सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु।
आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला।’



 
										 
										 
												 
												 
												 
												 
												 
												 
											 
								 
								 
								 
								