उर्लाबारी । भुसिका युवराज तिवारीले स्वदेशमै केही गर्ने अठोटसहित आठ वर्षअघि सुरु गरेको कृषि यात्रा आज उदाहरणीय बनेको छ । तीन लाख रुपैयाँ लगानीबाट सुरु गरिएको सानो कुखुराको फार्म अहिले करिब एक करोड रुपैयाँ बराबरको लगानीमा विस्तार भएको छ ।

सुरुमा १५० वटा कुखुराबाट काम थालेका तिवारीको फार्ममा अहिले १५ वटा होलिस्टेन गाई र एक हजार ५०० भन्दा बढी ब्रोइलर कुखुरा छन् । वैदेशिक रोजगारीको बाटो त्यागेर गाउँमै श्रम र पसिनासँग सपना साटेका तिवारी आज मासिक ४०–५० हजार रुपैयाँ आम्दानी गर्दै परिवारसँग सुखी जीवन बिताइरहेका छन् ।

तिवारीको दैनिकी बिहानको झिसमिसेमै सुरु हुन्छ । बिहान ३ बजे गोठ पसेका उनी ५ बजे दूधको क्यान बोकेर पथरी बजार पुग्छन् । गोठमा रहेका १५ गाईमध्ये नौ वटा दुहुना र दुई वटा ब्याउने अवस्थामा छन् । दैनिक ७० लिटरभन्दा बढी दूध उत्पादन हुने फार्मबाट उनी बिहान र बेलुका दूध बजार पुर्‍याउँछन् ।

ब्रोइलर कुखुराबाट मात्र सोचेजस्तो आम्दानी नभएपछि तिवारीले तीन वर्षअघि तीन लाख रुपैयाँ लगानी गरेर गाईपालन सुरु गरेका थिए । आज यही निर्णय उनको कृषि यात्राको मुख्य आधार बनेको छ ।

युवराजको सफलतामा परिवारको योगदान उल्लेखनीय छ । श्रीमती चन्द्रकला बिहानैदेखि दूध दुहुन, खोले पकाउन र कुटीकाटमा सक्रिय हुन्छिन् । बिबिएस अध्ययनरत दुई छोरी कुखुराको स्याहार र दानापानीमा सहयोग गर्छन् । पढाइसँगै कृषि कर्ममा खुसी रहेको उनीहरू बाबुआमाको मेहनतकै कारण उच्च शिक्षा सम्भव भएको बताउँछन् ।

पहिला दुई–तीन सय कुखुरा पाल्न पनि गाह्रो हुने अवस्थाबाट आज एक हजार ५०० भन्दा बढी चल्ला हुर्काइरहेका तिवारी गाउँका धेरै युवाका लागि प्रेरणा बनेका छन् । पहिले ‘यसले के गर्छ र?’ भन्ने गाउँलेहरू अहिले उनको फार्म हेर्न र सिक्न आउने गरेका छन् ।

सरकारी अनुदानको भर नपरी अघि बढेका तिवारीलाई अहिले भने कामको चाप र समय व्यवस्थापन चुनौती बनेको छ । दूध दुहुने मेसिन, वस्तु बस्ने म्याट, कुटी काट्ने मेसिन, आधुनिक गोठ निर्माण, दानासम्बन्धी ज्ञान र सामान्य पशु उपचार तालिमको आवश्यकता रहेको उनी बताउँछन् । नगर र वडाबाट केही सहयोग पाए अझ सहज हुने उनको अपेक्षा छ ।

आठ वर्षअघि देखिएको सानो सपना आज सफलताको बाटोमा अघि बढ्दै छ । युवराज तिवारीको कथा गाउँमै केही गर्न चाहने युवाका लागि आशा र प्रेरणाको सन्देश बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय