वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। पहाडको टाकुरोमा अवस्थित समथर खुला चौरबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा र कास्कीका विभिन्न भू–भागसँगै माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि र धवलागिरि हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।

रमणीय दृश्य र खुला वातावरणका कारण राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पूर्वाधार निर्माणको काम भइरहेको वडा अध्यक्ष विश्वजङ्ग गुरुङले जानकारी दिनुभएको छ। वडा, नगर, प्रदेश र सङ्घीय सरकारको बजेट तथा स्थानीयको जनश्रमदानबाट भवन, प्रतीक्षालय, चौपारी, पिङ, शौचालयलगायत संरचना निर्माण गरिएको छ।

गाउँबाट सहरतर्फ बढ्दो बसाइँसराइ रोक्ने र स्थानीयलाई गाउँमै रोजगारी तथा आम्दानीसँग जोड्ने उद्देश्यले राम्चेडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको वडाध्यक्ष गुरुङको भनाइ छ। २०७९ सालदेखि हालसम्म सरकारी बजेट र स्थानीय सहयोगबाट ४५–५० लाख रुपैयाँ बराबरको लगानी भइसकेको छ।

यद्यपि, प्रचारप्रसारको अभावका कारण राम्चेडाँडाले अपेक्षित चर्चा पाउन नसकेको स्थानीयको गुनासो छ। प्रभावकारी प्रचार गर्न सके अझ बढी पर्यटक आकर्षित हुने विश्वास गरिएको छ।

बिदाका दिनमा विद्यालय, सङ्घसंस्था, समूह तथा क्लबहरू वनभोज खान यहाँ आउने गरेका छन्। वनभोजका लागि आवश्यक खानेपानी, बिजुली, भाँडाकुँडा, ग्यास तथा दाउराको व्यवस्थापन स्थानीय भाउजु समूहले गर्दै आएको समूहकी अध्यक्ष भागिमा गुरुङले बताउनुभयो।

कच्ची सडक पुगेकाले राम्चेडाँडामा जीप र मोटरसाइकलमार्फत सहजै पुग्न सकिन्छ। हाल पूर्वाधार विस्तारसँगै यहाँ पर्यटकको आवागमन उल्लेख्य रूपमा बढ्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय