काठमाडौँ । हामी र हाम्रो कृति समाजको २५औँ कृतिका रूपमा साहित्यकार मीरा न्यौपाने गजुरेलद्वारा लिखित मुक्तकसङ्ग्रह ‘मधुरिमा’ को लोकार्पण कार्यक्रम शनिबार गैरीगाउँ, तीनकुनेस्थित नासा कलेजको सभाहलमा सम्पन्न भएको छ।

दीप प्रज्वलन तथा राष्ट्रिय गानबाट शुभारम्भ गरिएको कार्यक्रमको सञ्चालन बृन्दा ढुङ्गानाले गर्नुभएको थियो भने स्वागत मन्तव्य समाजकी उपाध्यक्ष नम्रता उप्रेतीले व्यक्त गर्नुभएको थियो। समाजका अध्यक्ष मदन प्रसाद नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

त्यसैगरी वरिष्ठ साहित्यकार तथा साहित्यिक सञ्चारकर्मी रमेश पौडेल, शारदा मासिकका सम्पादक विमल भौकाजी र मुक्तक अभियन्ता सुनिल अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कृतिको समीक्षात्मक टिप्पणी दियालो साहित्यिक सरगमका कोषाध्यक्ष तथा मुक्तककार प्रकाश बस्नेत ‘गफाडी’ले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले ‘मधुरिमा’ मुक्तकसङ्ग्रह नेपाली साहित्यको समृद्ध भण्डारमा महत्वपूर्ण योगदान पुर्‍याउने उत्कृष्ट कृतिका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै कृतिकार मीरा न्यौपाने गजुरेललाई बधाई तथा शुभकामना दिनुभएको थियो। समीक्षक प्रकाश बस्नेतले सङ्ग्रहमा समावेश मुक्तकहरू गहन भाव, जीवनदर्शन र साहित्यिक सौन्दर्यले भरिपूर्ण रहेको उल्लेख गर्दै पाठकको मन छुने विश्वास व्यक्त गर्नुभयो।

कृतिका सम्पादक मिना चौलागाईँले सम्पादनका क्रममा अत्यन्त सावधानी अपनाइएको बताउँदै कृतिकारको साहित्यिक यात्राबारे पनि संक्षिप्त चर्चा गर्नुभएको थियो। कृतिकार मीरा न्यौपाने गजुरेलले कृति प्रकाशनमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो।

संस्थाका सचिव बद्री उप्रेतीको कुशल व्यवस्थापनमा सम्पन्न कार्यक्रममा करिब ८७ जना साहित्यकारको उपस्थिति रहेको थियो। सहभागी साहित्यकारहरूमध्ये सुभद्रा अधिकारी, पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’, रामेश्वर केसी, प्रमुना पौडेल, एमपी पाण्डे, मन भुजेल, कमला घिमिरे, सुस्मिता अधिकारी, सोविता छत्कुली, खगेन्द्र बस्याल, भागिरथी ज्ञवाली, विष्णु थापा ‘विछोड’, पार्वती भट्ट, सरिता थापा, नानु राना थापा, सत्यन श्रेष्ठ, लब खड्का, सङ्गीता निरौला, सामिन निरौला, रिना आचार्य, नम्रता उप्रेती, खगेन्द्र बस्याल तथा बद्री उप्रेतीले विमोचित कृतिबाट रचना वाचन गर्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष मदन प्रसाद नेपालले ‘मधुरिमा’ नेपाली साहित्यका लागि उदाहरणीय र ऐतिहासिक दस्तावेज बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कृतिकारलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय