चितवन । बाढीका कारण १८ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा आज बिहानदेखि यातायात सेवा पुनः सञ्चालनमा आएको छ।

गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभिरको करिब १०० मिटर सडक बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक भासिएपछि गत भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक निर्माण सुरु गरिएको थियो।

नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म आवश्यक काम सम्पन्न भएपछि आजदेखि नयाँ ट्र्याकमार्फत दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको हो।

पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम अघि बढाएको थियो। दुई दिनअघिदेखि सडकमा रोकिएका सवारीसाधनलाई क्रमशः पार गराइए पनि आजदेखि नियमित रूपमा यातायात सञ्चालन गरिएको हो।

कृष्णभिरमा यातायात सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो रोकथामका लागि आंशिक रूपमा रोकिएको सडक सञ्चालनसमेत आजदेखि सहज भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कृष्णभिरमा यातायात सञ्चालनमा आएसँगै तत्कालका लागि तुइन खोलामा भइरहेको पहिरो रोकथामको काम रोकिएको छ।

कृष्णभिरमा लामो समयसम्म सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन राजधानीतर्फ आवतजावत गर्न नसक्दा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्तिमा समेत असर परेको थियो।

भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीको बहाव बढेको थियो। त्यसपछि भदौ १४ गते पुनः आएको बाढीले कृष्णभिरलगायत पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक क्षति पुर्‍याएको थियो। अन्य स्थानमा यातायात सहज भए पनि कृष्णभिरमा सडक पूर्ण रूपमा भासिएपछि लामो समयसम्म समस्या भएको हो।

पृथ्वी राजमार्गको उक्त सडकखण्ड हुँदै दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय