महोत्तरी । भोटेकोशी बाढीमा परेर महोत्तरीका १० जना सम्पर्कविहीन भएपछि उनीहरूका परिवारका लागि यस वर्षका चाडपर्व पीडामै बितेका छन्। आफ्ना आफन्तको अवस्था अझै अज्ञात रहेकाले परिवारजन निरन्तर खोजी र खबरको प्रतीक्षामा छन्।
बाढीपछि सम्पर्कविहीन भएका बर्दिबास–३ गौरीडाँडाका सौभाग्य विष्टको परिवारमा यस वर्ष बाबुको मुख हेर्ने दिनदेखि तीजसम्म कुनै उत्साह आएन। अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियर रहेका विष्ट भदौ १० गते आएको बाढीसँगै सम्पर्कविहीन भएका थिए।

सौभाग्यकी बहिनी सिर्जना विष्टले हरेक वर्ष तीज आउन केही दिनअघि भाइले फोन गरेर घर आउने तथा पर्व मनाउने कुरा गर्ने गरेको सम्झिइन्। “यसपालि उसको खबर सुन्न नपाई पर्व बित्यो। अझै केही पत्तो लाग्न सकेको छैन,” उनले भावुक हुँदै भनिन्।
सौभाग्यका पिता ध्रुव विष्टले रसुवा, नुवाकोटदेखि चितवनसम्मका अस्पताल तथा सम्भावित स्थानमा खोजी गरिसक्दा पनि छोराको अवस्था पत्ता नलागेको बताए। “कैयन पटक आफैँ डाँडापाखामा गएर खोजियो, अस्पतालहरू पनि चहारियो। तर सौभाग्यको केही पत्ता लागेन,” उनले भने।
यस्तै बर्दिबास–९ पशुपतिनगरका खिलबहादुर रानाकी छोरी जोया राना पनि बाढीपछि सम्पर्कविहीन छिन्। रसुवास्थित जलविद्युत् आयोजनामा कम्प्युटर इन्जिनियर रहेकी जोयाले रक्षाबन्धनमा घर आउने बताएकी थिइन्। तर पर्व आउनुअघि नै उनी सम्पर्कविहीन भएपछि परिवार शोकमा डुबेको छ। छोरीको खोजीका लागि पिता खिलबहादुरले आफैँ हेलिकप्टर भाडामा लिएर सम्भावित क्षेत्रमा खोजी गरेका थिए।
मधेसको मिथिला क्षेत्रमा श्रद्धापूर्वक मनाइने चौरचन पर्वसमेत सम्पर्कविहीन परिवारका लागि पीडामै बितेको छ। पिपरा–३ की ६० वर्षीया विणादेवी यादवले राखी, कृष्णाष्टमी र चौरचन सकिँदासमेत छोराको कुनै खबर नआएको बताइन्।
जलेश्वर–१० सारीका १० वर्षीय बिटुलाल दास पनि बाढीमा सम्पर्कविहीन भएका आफ्ना पिता सुशीलको खोजीमा छन्। कृष्णाष्टमीमा बाबुसँग मेला जाने उनको चाहना यसपालि अधुरै रह्यो। नेपाली सेनाको जागिर छाडेर पर्यटक ओसारपसारको काम गर्दै आएका सुशील रसुवा क्षेत्रमा बाढीपछि सम्पर्कविहीन भएका हुन्।
त्यस्तै, मटिहानी–७ का गङ्गाराम मण्डल पनि बाढीपछि सम्पर्कविहीन छन्। उनकी ६५ वर्षीया आमा ललितादेवी मण्डल बुहारी र चार नातिनातिनाको भविष्य सम्झेर चिन्तित छिन्।
बाढीमा परेर महोत्तरीका सम्पर्कविहीन हुने अन्य व्यक्तिमा जलेश्वर–७ महादेवपट्टीका हशन रेजा अन्सारी, लोहारपट्टी–८ का सन्तोषकुमार ठाकुर, गौशाला–१ का विजय थापा मगर, गौशाला–८ का शीतबहादुर नुङ्गेली र रामगोपालपुर–४ का विश्वजित मण्डल रहेका छन्।
भोटेकोशी बाढीले रसुवा हुँदै नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनसम्म प्रभाव पारेपछि महोत्तरीका विभिन्न परिवारमा समेत त्यसको गहिरो पीडा परेको छ। परिवारका मुख्य सदस्य नै सम्पर्कविहीन भएपछि चाडपर्वको खुसी हराएको उनीहरू बताउँछन्।
महोत्तरीका सम्पर्कविहीन १० जनाको अवस्था पत्ता लगाउन परिवारजनले सरकार, खोज तथा उद्धारमा संलग्न सुरक्षाकर्मी र सम्बन्धित निकायसँग निरन्तर आग्रह गरिरहेका छन्।

