काठमाडौं । न्याय सेवा आयोगले ११ सहसचिवसहित १८५ जनाको सरुवा सिफारिस गरेको छ । आयोगको आइतबार बसेको बैठकले ११ जना सहसचिव, ४० उपसचिव र १३४ शाखा अधिकृत गरी कुल १८५ जनाको सरुवा गर्न सिफारिस गरेको हो ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको आयोगको बैठकले ११ सहसचिवको जिम्मेवारी हेरफेरसहित सरुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस भएकामध्ये कानुन समूहका सहसचिव अर्जुनकुमार खड्कासहित कोशचन्द्र सुवेदी, पाराश्वर ढुङ्गाना, टिकाराम पाण्डे र धर्मराज कुइँकेल रहेका छन् ।

त्यस्तै, सरकारी वकिल समूहबाट सहन्यायाधिवक्ताहरु ईश्वरीप्रसाद बञ्जाडे, दमनसिंह बिष्ट, अच्युतमणि न्यौपाने, ज्ञान प्रसाद भुसाल, कृष्णप्रसाद पुडासैनी र पुण्यप्रसाद पाठकको सरुवा सिफारिस भएको छ ।
आयोगको बैठकले १४० जना शाखा अधिकृतहरुको सरुवा सिफारिस गरेको छ । न्याय समूहबाट ४९ जना, कानून समूहबाट १२ जना र सरकारी वकिल समूहबाट ७३ जनाको सरुवा गर्न सिफारिस गरेको हो । त्यस्तै, सहसचिव, उपसचिव र शाखा अधिकृत गरी १४० जनालाई पदस्थापनका लागि सिफारिस गरेको छ ।
आयोगको बैठकले १० जना सहचिवको बढुवासहित पदस्थापनका लागि सिफारिस गरेको छ भने १६ जना उपसचिवलाई विभिन्न स्थानमा पदस्थापनका लागि सिफारिस गरिएको छ । लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका ११४ जना शाखा अधिकृतलाई पनि विभिन्न स्थानमा पदस्थापनका लागि सिफारिस भएको छ ।

