कास्की । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले लोकतन्त्रमा सुशासन, पारदर्शिता र जवाफदेहिता आवश्यक हुने बताएका छन् ।
प्रजातान्त्रिक विचार समाज कास्कीको नवौँ अधिवेशन तथा आवधिक निर्वाचन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक विकास विषयक गोष्ठीमा उहाँले सुशासन, पारदर्शिता र जावफदेहिता लोकतन्त्रका आधारभूत सर्त भएको बताए ।

आवधिक निर्वाचन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक विकास एक अर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै उनले समृद्धिका लागि आर्थिक सुशासनसँगै उत्पादन बढाउनेतर्फ लक्षित हुनुपर्नेमा जोड दिए ।
देशको क्रय शक्तिले धान्ने अवस्था नरहेको उल्लेख गर्दै उनले रु १८ खर्बको व्यापार घाटा गम्भीर विषय भएको बताए । सरकार सञ्चालन र निर्वाचनको तालमेल फरक विषय भएको बताउँदै उनले तालमेलसँग जोडिएका धेरै विषय र त्यसले आगामी दिनमा पार्टी सङ्गठनमा पार्ने प्रभावलगायत विषयमा गम्भीर समीक्षा गरेर बढ्नुपर्ने आवश्यकता औँल्याए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले जनताका मुद्दालाई सम्बोधन गर्ने गरी कांग्रेस लाग्नुपर्ने जनाउँदै प्रजातान्त्रिक विचार समाजले पार्टीले लिनुपर्ने नीति, विचार लगायतमा बहस र छलफल गराउनुपर्ने बताए ।

