
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालीकोटको नौ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्वसंविधानसभा सदस्यसमेतले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा एटम बिसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराएका छन् । विसी उक्त पार्टीका केन्द्रीय सदस्य हुन् भने विक पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माको भाइबुहारी हुन् ।

रास्कोट नगरपालिका प्रमुखमा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकको उम्मेदवारी दर्ता भएको छ । उपाध्याय ०६४ सालको संविधानसभाको सदस्य हुन् । खाँडाचक्र नगरपालिका प्रमुखमा हस्त विक, तिलागुफा नगरपालिका प्रमुखमा रमेश चदारा र उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।
पचालझरना गाउँपालिका अध्यक्षमा मनिलाल ऐडी, उपाध्यक्षमा विनित सिंह तिरुवा, पलाता गाउँपालिकाको अध्यक्षमा पदम विक, महावै गाउँपालिकाको अध्यक्षमा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकाको अध्यक्षमा मनिश विक र सान्नी त्रिवेणी गाउँपालिमाको अध्यक्षमा रुपसिंह बोहोराको उम्मेदवारी दर्ता भएको छ ।
पार्टीको चुनावलाई उपभोग गरेर जाने नीतिअनुसार नै उम्मेदवारी दिएको जिल्ला सचिवसमेत ऐडीले बताए । कालीकोट प्रवक्ता विश्वकर्माको गृह जिल्ला हो । सो पार्टीमा चुनावमा भाग लिने वा नलिने भन्ने विषयमा विवाद रहँदै आएको थियो ।
यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पाका विभिन्न ६ स्थानीय तहमा पनि उम्मेदवारी दिएको छ । जिल्लाको गङ्गादेव, परिवर्तन, थवाङ, सुनिलस्मृति, सुनछहरी र लुङ्ग्री गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएको हो ।
पार्टीले स्थानीय तह निर्वाचनका लागि गंगादेव गाउँपालिकामा सम्पूर्ण पदसहित उम्मेदवारी दर्ता गराएको छ । रुन्टिगढी गाउँपालिकामा कुनै उम्मेदवारी नपरेको जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश सहसचिव केबी गुरुङले जानकारी दिए ।