
ललितपुर । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम नजिकै आइरहेको दशैँ–तिहारअघि सम्पन्न नहुने भएको छ । हिन्दू धर्मावलम्बीको महान् पर्व दशैँ–तिहार नजिकिएसँगै कामदार अभाव हुँदै जाँदा पछि मात्र सम्पन्न हुने भएको हो ।
मन्दिरको सबैभन्दा माथि तामाको छाना छाउने काममा जनशक्ति अभाव भइरहेकाले सो पर्वपछि मात्रै मन्दिर पुनःनिर्माण सम्पन्न हुने प्राविधिक सहयोगको जिम्मा लिएको काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी)का देशीय निर्देशक रोहित रञ्जितकारले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरको बाँकी दुई तलामा झिङ्गटीको छानो छाउने भएकाले सामान भने आउने क्रम जारी छ ।” मन्दिर सरसफाइ आदिमा समेत केही समय खर्च हुने भएकाले केही समय लाग्ने भएको रञ्जितकारको भनाइ छ ।

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्प र पटक–पटक आएको पराकम्पनका कारण मन्दिरको दलिन, बिम र माथिल्लो तलाको गारो थाम्ने थामसमेत भाँचिएर भित्ता चिराचिरा परेका थिए । निर्माणाधीन मन्दिरमा गारो लगाउने काम पूर्णरूपमा सकिएर माथिल्लो तलामा छाना हाल्ने काम भइरहेको ललितपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारी बढेर मुलुकमा बन्दाबन्दी नभए यही असोजभित्र मन्दिर निर्माण सम्पन्न गर्ने योजना बनाएका थियौँ, तर केही ढिलाइ हुने भयो ।”
मन्दिरको माथिल्लो तलामा काठ हाल्ने काम सकिएको सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरमा पुरानै गजुर प्रयोग गर्न मिल्ने भएकाले यसैलाई फेरि हाल्नेछाँै ।” प्राचीन शैलीमा निर्माणाधीन मन्दिर सम्पन्न भएपश्चात माथिदेखि स्काफोल्डिङ झिक्दै आउने श्रेष्ठले जानकारी गराउनुभयो ।
‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ मन्दिर पुनःनिर्माणमा लाग्दा विदेशीसँग हात फैलाउन नपर्ने उदाहरण प्रमाणित गर्न सफल भएको सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले दाबी गर्नुभयो । व्यापारीको आराध्य देवता मानिने सो मन्दिर पुनःनिर्माणका लागि दाताबाट लगभग रु पाँच करोड चन्दा सङ्कलन भइसकेको निवर्तमान अध्यक्ष महर्जनको भनाइ छ ।
भारत सरकाले पुनःनिर्माण गर्ने भनिएको भीमसेन मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि कसैले चासो नदेखाएपछि परिसरबाट आवतजावत गर्ने हजारौँ स्वदेशी तथा विदेशीलाई नोक्सानी पुग्ने डरका कारण ललितपुरवासी स्वयं अग्रसर भएका थिए । सङ्घले सो मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक रु चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरेको थियो । मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्पूर्ण वस्तुको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा रहेको थियो ।