काठमाडौं । नेपाली काँग्रेस नेता डा.शेखर कोइराला पक्षधर नेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ बिद्रोह) दिने निस्कर्ष निकालेका छन् । बिहीबार काठमाडौंमा भएको कोईराला पक्षीय नेताहरुको भेलाले पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिने निस्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरुमा छलफल गरेको बताए । उनले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको बताए ।

उनले भने, ‘देशको अहिलेको समसामयिक राजनीति, हाम्रो गठबन्धन, अहिले देशको आर्थिक अवस्था र भोलि हुने निर्वाचनको बारेमा र अहिले देशमा बढ्दै गएको महँगीको बारेमा हाम्रो लामो छलफल भइरहेको छ । पार्टीको आन्तरिक कुरामा पनि हामीले छलफल गरेका छौँ ।’
नेता भण्डारीले छलफलमा राजनीतिक सोचाईमा परिवर्तन र त्यसको आधारमा आफ्नो समूहको विचारलाई कसरी अघि बढाउने भन्ने बारेमा पनि छलफल भएको बताए ।

