काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता वा तालमेल चाहेको भए नेपाली कांग्रेसको पुच्छर समाउन छाडेर आउन नेकपा (माओवादी केन्द्र)लाई चुनौती दिएका छन् । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादी केन्द्रबीच सम्भव एकता, नभए कमसेकम चुनावी तालमेल गर्नुपर्ने प्रस्ताव गरेपछि अध्यक्ष ओलीले पहिले कांग्रेसको पुच्छर नसमात्न चुनौती दिएका हुन् ।

शनिवार नेपाल चीन मैत्री समाजले काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले एकताको प्रस्ताव गरेका थिए । जवाफमा अध्यक्ष ओलीले माओवादी केन्द्र वामपन्थी पार्टी नभएको जवाफ फर्काएका छन् । ‘यदि कोही वाम पार्टी छन् भने कांग्रेसका पछि नलाग्न, गठबन्धन छाड्न, एसपीपी नगर्न र वामपन्थी एकतामा आउँन आग्रह गर्छु,’ उनले भने, ‘चौंरीको पुच्छरजस्तो कांग्रेसको पुच्छर हुने अनि वामपन्थी पनि भन्ने ?’

उनले माओवादी केन्द्रले आफू नेतृत्वको सरकार ढाल्न हदैसम्मको प्रयास गरेको स्मरण गरे । ‘कम्युनिस्ट सरकार ढालेर कांग्रेस सरकार बनाउन अदालतमा मुद्दा हाल्न गएको होइन वामपन्थी ?,’ उनले प्रश्न गरे, ‘कम्युनिष्ट सरकार ढालेर देउवाजीको नेतृत्वमा गठबन्धन सरकार बनाउन संसदबाट सकेनौँ त्यसैले परमादेश जारी गरिपाउँ भनेर गएको होइन वामपन्थी ?’

अध्यक्ष ओलीले कांग्रेससँगको गठबन्धनमा रहेसम्म माओवादी केन्द्रलाई वामपन्थी दल भन्न नमिल्ने बताएका छन् । ‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको रक्षा गरौँ अनि वामपन्थी ? कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भइहाल्यो ल छाडिदिऊँ,’ उनीले भने, ‘वामपन्थी हुनुहुन्छ भने आउनुस् एमालेसँग मिलेर कांग्रेस विरोधी होइन देश, लोकतन्त्र र कानूनी राजको पक्षमा उभिने सरकार बनाऊँ र अघि बढौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय