काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। पार्टीको स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार देशभरका अधिकांश वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको छ। बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा पनि मंगलबार अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।

त्यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा समेत अधिवेशन सफलतापूर्वक सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी गरिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले रसुवामा त्यसअनुसारको व्यवस्था मिलाइएको जानकारी दिए।

नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन्। जसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ।

त्यस्तै, कोषाध्यक्ष भने निर्वाचित कार्यसमितिका सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय