काठमाडौं । हामी र हाम्रो कृति समाजको ३१औँ कृतिका रूपमा कृतिकार गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह काठमाडौंको बालुवाटारस्थित लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहलमा लोकार्पण गरिएको छ।

हामी र हाम्रो कृति समाजका विशिष्ट आजीवन सदस्य गोविन्दराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् गजलकार ज्ञानुवाकर पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा वरिष्ठ साहित्यकार तथा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, मुक्तक अभियन्ता एवं हातेमालो साहित्य संगमका केन्द्रीय अध्यक्ष सुनिल अधिकारी, नेपाल पत्रकार संघका अध्यक्ष तथा वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, शारदा त्रैमासिकका सम्पादक विमल भौंकाजी, भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाल तथा कृतिकार गोविन्द्रराज तिमिल्सेना विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। वरिष्ठ समालोचक प्रा.डा. भरतकुमार भट्टराईले कृतिको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो।

प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। संस्थाका संस्थापक सदस्य पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’ले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका सचिव बद्री उप्रेतीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष मदनप्रसाद नेपालले संस्थाका हालसम्मका गतिविधि तथा आगामी कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो।

करिब ६५ जना स्रष्टाको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले कृतिकार तिमिल्सेनालाई बधाई तथा कृति सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। वक्ताहरूले हामी र हाम्रो कृति समाजले नेपाली साहित्यको क्षेत्रमा गर्दै आएको गतिविधिको चर्चा गर्दै संस्थाका विविध पक्षबारे आ–आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रममा सहभागी साहित्यकारहरूले ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रहबाट विभिन्न मुक्तक वाचनसमेत गर्नुभएको थियो। प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले कृतिको गहन अध्ययनका आधारमा व्यक्त गर्नुभएको समीक्षात्मक मन्तव्यमा कृतिका विविध पक्षमाथि चर्चा गर्नुभएको थियो। उहाँका अध्ययनपरक तथा उदाहरणीय अभिव्यक्तिले सहभागीहरूलाई साहित्यिक सिर्जना र अध्ययनका क्षेत्रमा प्रेरणा प्रदान गरेको थियो।

कृतिकार गोविन्द्रराज तिमिल्सेनाले कृति प्रकाशनका क्रममा अहोरात्र खटिएर सहयोग गर्नुभएकोमा संस्थाका अध्यक्ष मदनप्रसाद नेपाललगायत हामी र हाम्रो कृति समाजको सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्नुभयो। दुर्गम क्षेत्रबाट साहित्यिक क्षेत्रमा अघि बढिरहेका आफूजस्ता स्रष्टालाई माया, सम्मान र प्रोत्साहन प्रदान गरेकोमा उहाँले संस्थाप्रति विशेष कृतज्ञता व्यक्त गर्नुभयो। साथै, कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न उपस्थित सम्पूर्ण साहित्यकार तथा साहित्यप्रेमी महानुभावहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

सो अवसरमा कृतिकार तिमिल्सेनालाई संस्थाका अध्यक्ष मदनप्रसाद नेपाल र प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले मायाको चिनो प्रदान गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन, व्यवस्थापन तथा विभिन्न माध्यमबाट सहयोग गर्नुहुने सम्पूर्ण महानुभावप्रति धन्यवाद व्यक्त गर्दै सभाध्यक्ष गोविन्दराज पौडेलले ३१औँ कृति लोकार्पण समारोहमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण साहित्यानुरागीप्रति आभार व्यक्त गर्नुभयो। उहाँको मन्तव्यसँगै कार्यक्रम समापन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय