काठमाडौं। नेपाल पत्रकार महासंघले छापा सञ्चारमाध्यमले लोककल्याणकारी विज्ञापनबापत प्राप्त गर्दै आएको रकम कार्यविधि संशोधनका नाममा कटौती गरिएको विषयमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको छ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाउँदै छापा सञ्चारमाध्यमलाई प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको हो।

महासंघ काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल, उपाध्यक्ष हेमबहादुर राना, सचिव रमेशकुमार बोहोरा तथा शाखाका सल्लाहकार एवं केन्द्रीय सदस्य सूर्य सुवेदीलगायत प्रतिनिधि टोलीमा सहभागी थिए। त्यसैगरी, शाखाले गठन गरेको ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’का सदस्य टंक कार्की, विश्वराज किराँत, सीता पोखरेल, कल्पना खड्कालगायत वरिष्ठ पत्रकारहरूको पनि सहभागिता थियो।

कार्यदलका संयोजक दामोदरप्रसाद दवाडीले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्रमा लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ। पत्रमार्फत छापा सञ्चारमाध्यमको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक पहल गर्न पनि आग्रह गरिएको छ।

महासंघले लोककल्याणकारी विज्ञापन छापा सञ्चारमाध्यमको आर्थिक स्थायित्वसँग प्रत्यक्ष जोडिएको विषय भएको जनाएको छ। विज्ञापनबापत उपलब्ध हुँदै आएको रकम कटौती गर्ने निर्णयले आर्थिक संकटमा रहेका छापा सञ्चारमाध्यमलाई थप समस्यामा पार्ने महासंघको भनाइ छ।

छापा सञ्चारमाध्यमको संरक्षण, निरन्तरता र प्रवर्द्धनका लागि राज्यले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनसम्बन्धी व्यवस्था प्रभावकारी र दीर्घकालीन बनाउनुपर्ने मागसमेत महासंघले अघि सारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय