काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाएका कारण वैदेशिक सम्बन्ध खलबलिन पुगेको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिँढीको रूपमा प्रयोग गरेका कारण वैदेशिक सम्बन्ध खलबलिन पुगेको बताए।

प्रमुख राजनीतिक दलकै कारण नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धा स्थलको रूपमा परिणत भएको उनको भनाइ छ।
उनले दलको सत्ता केन्द्रित क्रियाकलापका कारण देश गम्भीर संकटतर्फ उन्मुख भएको बताए। अध्यक्ष लिङ्देनले राज्यका प्रमुख तीन अंगका बीचमा हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको उल्लेख गर्दै जनताले सरकार भएको अनुभूति गर्न नपाएको उल्लेख गरे।
उनले भने, ‘अहिले प्रमुख राजनीतिक दलका सत्ताकेन्द्रित क्रियाकलापका कारण गम्भीर संकटतर्फ उन्मुख छ। मुलुकका तीन प्रमुख अंगबीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको छ। लामो समयदेखि संसद् भूमिकाविहीन छ। संसद् केही राजनीतिक दलको अकर्मण्यताका कारण बन्द छ। संसद् संसद्जस्तो छैन। अदालतमाथिको राजनीतिक हस्तक्षेप र अदालतभित्रै विद्यमान भ्रष्टाचारका कारण अदालत, अदालतजस्तो छैन।’
जनताले सरकार भएको अनुभूति गर्न नपाएको उनले बताए। कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अंगमा भ्रष्टाचार र भ्रष्टाचारमा सबै प्रमुख राजनीतिक दलको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था नभएको उनको भनाइ छ।
उनले भने, ‘आफूभन्दा कमजोर छिमेकी युक्रेनमाथि रुसको आक्रमण जति भत्र्सनायोग्य छ, त्यत्तिकै हामीले यस घटनाबाट शिक्षा लिनुपर्छ। वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढीको रूपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण हाम्रो वैदेशिक सम्बन्ध पूर्ण रूपमा खलबलिन पुगेको छ।’
उनले नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको बताए। उनले भने, ‘सत्तापक्ष र प्रमुख राजनीतिक दलका क्रियाकलापका कारण हुने नोक्सानीको मूल्य केवल सम्बन्धित राजनीतिक दल र नेताले मात्रै चुकाउनु पर्दैन । त्यसको भार सिंगो मुलुकले व्यहोर्नुपर्छ। अहिले देश त्यही बाटोतर्फ उन्मुख छ।’
अध्यक्ष लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गरे। देशलाई कम्युनिस्ट र कांग्रेसको विकल्प आवश्यक भएको भन्दै उनले कम्युनिस्ट र कांग्रेसको विकल्प राप्रपा मात्रै भएको दाबी गरे। उनले राप्रपालाई आगामी दिनमा निर्णायक र अग्रणी शक्तिको रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको बताए।
उनले भने, ‘कम्युनिस्ट पार्टी तथा कांग्रेसले अवलम्बन गरेको वैचारिक मार्गचित्रको विकल्प राप्रपाले अवलम्बन गरेको निरन्तरतासहितको परिवर्तन नै हो। कम्युनिस्ट र कांग्रेसको वैचारिक मार्गचित्रको विकल्प देशलाई आवश्यक छ। र, त्यसको नेतृत्व राप्रपाले मात्रै गर्न सक्छ । यो वास्तविकता हो। राप्रपाबाहेक कम्युनिस्ट र कांग्रेसको विकल्प तत्काल अरु कुनै पार्टी बन्छ अथवा बन्न सक्ने सम्भावना छैन। त्यसैले आगामी दिनमा राप्रपालाई निर्णायक र अग्रणी शक्तिको रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता हो।

