
नेपालगञ्ज । भारतका विभिन्न शहरहरुमा मजदुरी गरेर दशैं लगायतका चाडपर्व मनाउन स्वदेश फर्किरहेका नेपालीको सङ्ख्या बढेसँगै सीमानाका क्षेत्रमा ठगिन र लुटिन थालेको गुनासो गरेका छन् । दशैं मनाउन भारतबाट घर फर्किरहेका नेपालीलाई सीमापारी भारतको रुपैडिहा बसपार्कदेखि नै रिक्साचालक, भारतीय र नेपाली सुरक्षाकर्मी तथा होटल र गाडीका दलालले ठग्ने र लुट्ने काम गरिरहेको उनीहरुको गुनासो छ ।
सिमला, हरिद्वार, दिल्ली, पन्जाबका सहरहरु, अहमदाबाद तथा जयपुरलगायतबाट पैसा कमाएर दशैंका लागि घर फर्किने नेपालीलाई ठग्ने र लुट्ने काम भैरहे पनि भारतीय र नेपाली दुबै देशका सुरक्षाकर्मीले चासो नदिएको पीडितहरुको भनाई छ ।

रुपैडिहा बसपार्कमा ओर्लने वित्तिकै रिक्साचालकले नेपालगञ्ज पुगाइदिने भनी प्रतिव्यक्ति ५ सय रुपियाँ लिएर एसएसबीको बैरियरमा उतारेर भाग्ने गरेका छन् । यस्तै एसएसबीको बैरियर पार गरेर जाँदा उता रहेका रिक्साचालकले पनि नेपालगञ्ज पुगाइदिने भनी जनही ३ सय रुपियाँ असुलेर ५० मिटर पर नाकामा छोडेर जाने गरेका छन् । यसरी प्रहरीदेखि रिक्साचालकहरुले ठग्ने र लुट्ने गरेको पिडितहरुको गुनासो छ ।