
काठमाडौ । निक्षेपकर्ताको करिब ४६ करोड हिनामिना गरेको आरोपमा काठमाडौंको सोल्टीमोडस्थित सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित पक्राउ परेका १२ जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । पहिलो चरणको अनुसन्धानका लागि मंगलबार अदालतले उनीहरूलाई पाँच दिन थुनामा राख्ने अनुमति दिएको हो ।
प्रहरीका अनुसार दोस्रो चरणको अनुसन्धानका लागि पुन अदालतको अनुमति लिइन्छ । ठगी मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गर्छ । प्रहरी अनुसन्धान नसकिने भएकाले तामाङसहितका प्रतिवादी दसैंअघि छुट्ने सम्भावना कम छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार ठगी मुद्दाको उजुरीमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठसमेत छन् । निक्षेपकर्ताको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । तामाङ एमालेका पूर्वसभासद्समेत हुन् । चर्चित घरजग्गा व्यवसायी तथा सिभिल बैंकका संस्थापक रहेका उनी सहकारीको रकम दुरुपयोग गर्दा केही वर्षयता आर्थिक समस्यामा थिए । निक्षेपकर्ताको रकम सञ्चालकले मनोमानी रूपमा प्रयोग गरेका थिए । ऋण उठ्न नसकेपछि सहकारीले सर्वसाधारणको पैसा फिर्ता दिन सकेको थिएन ।
त्यसविरुद्ध पहिलेदेखि नै विभिन्न निकायमा उजुरी परे पनि तामाङले पैसा फिर्ता गर्ने आश्वासन दिँदै आएका थिए । तर, वर्षौँसम्म पनि पैसा नपाएपछि सर्वसाधारण प्रहरीमा गएका हुन् । तामाङमाथि गत वर्षदेखि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन गर्दै आएको छ ।