काठमाडौँ । हामी र हाम्रो कृति समाजको २४औँ कृति अन्तर्गत कृति कर्ण दयाल ‘सोराडी’को मुक्तकसङ्ग्रह ‘उथलपुथल’ को लोकार्पण कार्यक्रम २०८२ साल मंसिर २७ गते लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल, बालुवाटारमा सम्पन्न भएको छ।

दीप प्रज्वलन तथा राष्ट्रिय गानसहित सुरु भएको कार्यक्रमको सञ्चालन हामी र हाम्रो कृति समाजकी संस्थापक सदस्य सुभद्रा अधिकारी र साहित्यकार बृन्दा ढुङ्गानाले संयुक्त रूपमा गर्नुभएको थियो। स्वागत मन्तव्य संस्थाका विशिष्ट आजीवन सदस्य गोविन्दराज पौडेलले राख्नुभएको थियो।

हामी र हाम्रो कृति समाजकी आजीवन सदस्य मीरा न्यौपाने गजुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा विमोचित कृतिका समीक्षकका रूपमा प्रखर राजनीतिक विश्लेषक, इतिहासविद् तथा वरिष्ठ समालोचक प्रा. डा. गोविन्द मानसिंह कार्की रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी विमोचित कृतिमाथि टिप्पणी गर्ने अतिथिहरूमा लेखक संघका केन्द्रीय अध्यक्ष डा. श्री देवी क्षेत्री दुलाल, मधुपर्क मासिक पत्रिकाका प्रधान सम्पादक त्रिभुवनचन्द वाग्ले, जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्मा तथा जनसांस्कृतिक महासंघका केन्द्रीय महासचिव कुशल बोकटी रहनुभएको थियो।


प्रमुख अतिथि प्रा. डा. गोविन्द मानसिंह कार्कीले ‘उथलपुथल’ मुक्तकसङ्ग्रहको सशक्त समीक्षा गर्दै कृतिलाई समकालीन संवेदना र भाषिक कसावटले भरिएको उत्कृष्ट कृति भएको उल्लेख गर्नुभयो। कृतिकार कर्ण दयाल ‘सोराडी’ले छोटो समयमा कृति तयार गरी लोकार्पण सम्पन्न गरिदिएकोमा हामी र हाम्रो कृति समाजप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संस्थाका अध्यक्ष मदन प्रसाद नेपालले आगामी दिनमा हरेक महिनाको तेस्रो हप्ता १२ जना स्रष्टाका कृतिहरू पालैपालो लोकार्पण गर्ने योजना रहेको जानकारी दिनुभयो। साथै, देशका जुनसुकै कुनामा रहेका सर्जकहरूको कृति विमोचनका लागि संस्था सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

संस्थाका सचिव बद्री उप्रेतीको कुशल व्यवस्थापनमा सम्पन्न कार्यक्रममा अतिथिहरूले हामी र हाम्रो कृति समाजले साहित्यको उन्नयनका लागि गर्दै आएको योगदानको प्रशंसा गर्दै निरन्तरताको कामना गर्नुभयो।

करिब ४७ जना साहित्यकारको उपस्थितिबीच सम्पन्न कार्यक्रममा राजेशमान के.सी., प्रमुना पौडेल, मन भुजेल, नानु राना थापा, शिवहरि थापा, बद्री उप्रेती, बृन्दा ढुङ्गाना, शशिश्री आचार्य, कुमार नेपाल, प्रधुन्न अधिकारी र निरा श्रेष्ठले विमोचित कृतिबाट तथा आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष मीरा न्यौपाने गजुरेलले कार्यक्रम ऐतिहासिक भएको उल्लेख गर्दै ‘उथलपुथल’ नेपाली साहित्यको भण्डारमा उदाहरणीय दस्तावेजका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले कृतिकारलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय