काठमाडौँ । खैजेडी परम्परागत भजन–सांगीतिक विधालाई समेटिएको ‘खैजेडी चुड्का भजन संग्रह’ पुस्तक चैत १२ गते एक समारोहबीच सार्वजनिक गरिएको छ। आदरणीय गुरु डा. चिन्तामणि नाथयोगीले उक्त कृतिको विमोचन गर्दै नेपाली लोक–आध्यात्मिक संस्कृतिको संरक्षणमा यस्ता कृतिहरूको महत्वपूर्ण भूमिका रहने बताए।

कविप्रसाद चौलागाईद्वारा लिखित पुस्तकमा खैजेडी भजन परम्परामा प्रचलित विविध चुड्का भजनहरू संकलन गरिएको छ। कार्यक्रममा बोल्दै लेखक चौलागाईले हराउँदै गएको मौलिक भजन परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले कृति तयार पारिएको जानकारी दिए। उनले सांगीतिक परम्परालाई पुस्तान्तरण गर्न यस्ता प्रकाशन आवश्यक रहेको धारणा व्यक्त गरे।

विध्यवासिनी चमेली खैजेडी भजन समूहद्वारा प्रकाशित उक्त पुस्तकले खैजेडी भजनको इतिहास, शैली र भावनात्मक पक्षलाई समेटेको छ। कार्यक्रममा भजन समूहका सदस्यहरूले खैजेडी भजन प्रस्तुत गर्दै उपस्थित दर्शकलाई सांगीतिक वातावरणमा रमाएका थिए।

कार्यक्रममा विभिन्न साहित्यकार, संस्कृतिकर्मी तथा भजनप्रेमीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले कृतिले खैजेडी भजन परम्पराको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय