
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृत भाषाका दुई पुस्तक ‘कारिकार्थप्रकाशः’ र ‘पाणिनीय शिक्षा’को लोकार्पण गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज एक कार्यक्रमका बिच नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लेखिएका दुई कृति लोकार्पण गर्नुभएको हो ।

संस्कृत भाषामा पाणिनीय व्याकरणलाई सर्वोत्कृष्ट व्याकरण मानिन्छ । यही व्याकरण विषयमा विद्यावारिधि गर्नुभएका तिवारीले संस्कृत व्याकरण सम्बद्ध ग्रन्थको रचना गर्नुभएको हो ।
डा. तिवारीको पुस्तक कारिकार्थप्रकाशः मा संस्कृत भाषाका व्याकरणविद् पाणिनीद्वारा लेखिएको सिद्धान्त कौमुदीमा रहेका कारिकाहरूको संस्कृत र नेपाली भाषामा व्याख्या समेटिएको छ ।
त्यस्तै अर्को पुस्तक पाणिनीय शिक्षामा पाणिनी शिक्षाको सूत्रपाठ र श्लोक पाठको संस्कृत र नेपाली भाषामा व्याख्या तथा पाणिनीय शिक्षाका आठ वटा पाठ भेदको समेत समावेश गरिएको लेखक तिवारीले जानकारी दिनुभयो ।
विद्यार्थी पुस्तक भण्डारले प्रकाशन गरेको दुवै पुस्तक संस्कृत व्याकरण विषयका विद्यार्थी तथा भाषा शास्त्रमा चासो राख्ने सबैका लागि उपयोगी हुने कृतिकार तिवारीले बताउनुभएको छ ।
लेखक डा. तिवारीले पाणिनीय व्याकरणका विषयमा विद्यावारिधि गर्नुभएको छ ।