काठमाडौं । जिल्ला अदालत नवलपुरले पल (पूर्णविक्रम) शाहलाई पूर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ। नाबालिगलाई बलात्कारको आरोप लागेका शाहलाई अदालतले तनहुँ कारागारमा राख्न आदेश दिएको हो।
नवलपुर अदालतले पनि जिल्ला अदालत तनहुँकै आदेश दोहोर्याएको छ। न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। नवलपुर अदालतबाट तनहुँ कारागार नै लैजाने आदेश भएको प्रवक्ता एवं तहसिलदार लालबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार अदालतले आगामी वैशाख ७ गते बकपत्र गर्न आरोपित शाह र पीडित पक्षसहितका साक्षीहरूलाई बोलाएको छ।

आरोपित शाहलाई तनहुँ कारागार लैजाने तयारी गरिएको छ। नवलपुर अदालतमा शाहविरुद्ध थुनछेक बहस सकिएको हो। उनीविरुद्ध नवलपुर अदालतमा ३ जना सरकारी वकिल बुद्धबहादुर थापा, डालबहादुर नेपाली र कमल पन्थीले बहस गरेका थिए। तीनैजनाले कानुनअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसहित थुनामै राखेर अनुसन्धान अगाडि बढाउनुपर्ने तर्क पेश गरेका थिए।
तीनै जनाले दिउँसो १ बजे आफ्नो बहस सकेका थिए। आरोपित शाहका तर्फबाट ९ जना वकिलले बहस गरेका थिए। उनीहरूले शाहमाथि झुटो आरोप लगाइएको तर्क पेश गरेका अदालतका प्रवक्ता क्षेत्रीले बताए। वरिष्ठ अधिवक्ता वेदुनाथ खनाल र कमलामोहन वाग्ले, अधिवक्ताहरू गणेशप्रसाद अधिकारी, भानुभक्त सुवेदी, जनकराज ढुङ्गाना, चेतनारायण भुषाल, मिलनध्वज शाही, माधव घिमिरे र बालकृष्ण गैह्रैले शाहका पक्षमा बहस गरेका थिए।
पीडित नाबालिका पक्षबाट भने अधिवक्ता सरिता तिवारी र भुपेन्द्र खनालले बहस गरेका थिए। उनीहरूले आरोपित शाहलाई हदैसम्मको सजाय तोक्न माग गर्दै थुनामुक्त नगर्न तर्क गरेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहलाई हिजो मंगलबार जिल्ला अदालत नवलपुर पुर्याएर बयान लिइएको थियो।
पीडित नाबालिकाले आफूमाथि शाहले एक वर्षअघि बलात्कार गरेको आरोप लगाउँदै तनहुँ र पूर्वी नवलपरासीमा मुद्दा दर्ता गरेकी थिइन्। पीडितको जाहेरीका आधारमा शाहविरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते सरकारी वकिलमार्फत मुद्दा दर्ता भएको थियो। यसअघि जिल्ला अदालत तनहुँबाट भने अभियुक्त शाहलाई थुनछेक बहस सकेर गत १० चैतमा पूर्पक्षका लागि थुनामा पठाउने आदेश भइसकेको छ। तनहुँ अदालतको आदेशविरुद्ध शाह चैत १५ गते मंगलबार उच्च अदालत पोखरा पुगेका थिए।

