
काठमाडौं । ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र बन्न सफल भएको छ । नेपाली सेना र विद्रोहीबीचको द्वन्द्व तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाएर इङ्गिहोपो कोइँचले निर्माण गरेको उक्त लघु चलचित्रले पहिलो हुँदै रु दुई लाख पुरस्कार प्राप्त गर्न सफल भएको हो ।
दुर्गाबहादुर कार्कीले निर्माण गरेको लघु चलचित्र ‘सेता मलामी’ दोस्रो र रविन तामाङले निर्माण गरेको लघु चलचित्र ‘डोल्मा’ तेस्रो हुँदै क्रमशः रु एक लाख ५० हजार र रु एक लाख पुरस्कार जितेको छ । लघु चलचित्र गौरव–२, फातिमा र गरिमाले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा ५१ लघु चलचित्रका लागि निवेदन परेकामा उत्कृष्ट १० लाई निर्माणको अनुमति दिइएको थियो ।

त्यसमा उत्कृष्ट ६ लघु चलचित्रले भने पुरस्कार पाएको हो । उक्त चलचित्रको मूल्याङ्कन समितिका सदस्य सरिता लामिछानेले छायाङ्कन, आवाज, वत्ती, सन्देश, सिर्जना र निर्देशन पक्षलाई ख्याल गरेर पुरस्कारका लागि लघु चलचित्र छनोट गरेको जानकारी दिनुभयो ।
को को भए उत्कृष्ट ?
नेपाली सेनाको लघु चलचित्र प्रतियोगितामा इंगिहोपो कोइँचको सेनाको चेली उत्कृष्ट भएको छ । त्यस्तै दुर्गाबहादुर कार्कीको सेता मलामी दोस्रो भएको छ। रविन तामाङको डोल्माले तेस्रो स्थान हात पार्दा अनिल कुमार महर्जनको गौरव–२ चौथो भयो। विमला हुमागाईको फतिमा र पुरुषोत्तम बस्नेतको गरिमा संयुक्तरुपमा पाँचौं भए ।
नेपाली सेना फोटो प्रतियोगिता कार्यक्रमतर्फ १४ नम्बर बाहिनी अड्डा, वीरेन्द्र अस्पताल, प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय, बज्रदल गण, सैनिक सामग्री प्राप्ति निर्देशनालय, महावीर गण(रेन्जर), युद्धभैरव गण, युद्धकार्य निर्देशनालय, सैनिक विशेष ईण्टेलिजेन्स निर्देशनालय र महावीर गण (रेन्जर) उत्कृष्ट १० भित्र परे ।
त्यस्तै सोही विधाको गैर सैनिकतर्फ वर्षा शाहले प्रथम स्थान हात पार्दा समीप श्रेष्ठ दोस्रो तथा स्कन्द गौतम तेस्रो भए। वर्षा शाह र गठोविन्द प्रसाद अधिकारी क्रमशः चौथो र पाँचौं भए । प्राविधिकतर्फ ईश्वर खड्काको फोटो उत्कृष्ट भयो । फोटो तथा विविध प्रदर्शनीतर्फ भैरव वाहन गुल्मा पहिलो, विशेष फौज बाहिनी दोस्रो र शार्दूलजंग गुल्म तेस्रो भए ।
सिपाही २०७८ र शिवपुरी जर्नल २०२२ आलेख प्रतियोगितामा अवकाशप्राप्त सहायक रथी धर्मबहादुर बानियाँ पहिलो भए । दोस्रो स्थान सेनानी सत्बिन्दर सिंहले पाए भने तेस्रो स्थान पनि अवकाशप्राप्त सहायक रथी धर्मबहादुर बानियाँले हात पारे ।