सेमन्त वालाक्पा राई
संखुवासभा
हाल बेलायत
मुक्तक १
भुगोलमा टाढा रहे पनि मन नेपालै हुन्छ
परदेशमा देशको मायाले मन बेहालै हुन्छ
कर्मले टाढा पुर्याउँदा देश बिर्सेको नठान्नु
जिन्दगी रहेसम्म देशको माया आलै हुन्छ ।

मुक्तक २
टोपी शिरमा बसेर बोक्ने आफ्नै सान हो
श्रद्धाले शिर झुकाउँदै गरिने सम्मान हो
सगरमाथा शिखर झैं विश्व सामु चिनाउने
दौरा सुरुवाल टोपी नेपालीको पहिचान हो ।
मुक्तक ३
आफ्नै हातले देशको पर्खाल लगाउन सक्छन्
पौरख र मिहिनेतले औजार चलाउन सक्छन्
मरेका आशाहरु ब्युँझाउने पौरखी हातहरुले
बेचिएको देशको सिमाना फर्काउन सक्छन् ।
मुक्तक ४
माया लिएर मन भरी आफ्नै गाउँ र ठाउँको
परदेश लाग्नुछ पोको बोकेर ब्याज र साउँको
रगत पसीनाले पखालेर पिडाहरु मरुभुमीमा
फर्की आउनुछ एक दिन माया लिएर गाउँको ।

