रुशन सुवेदी
कुश्मा नगरपालिका १
पर्वत

मुक्तक १
स्नेहको मर्मत चाहिन्छ,मनको जतन चाहिन्छ
हृदयमा जलन हुँदा सान्त्वनाको पवन चाहिन्छ
अहंकार र क्रोधको बलले धकेल्न खोज्छौ तिमी
सम्बन्धको गाडी हाँक्न समर्पणको इन्धन चाहिन्छ

मुक्तक २
आशा र विश्वासको सगरमाथा आफूभित्र बनाउँछन्
वैरभावको फोहोर सद्भावले पखालेर पवित्र बनाउँछन्
कालसङ्ग अङ्कमाल गर्नेहरू पराजित हुँदैनन् कहिल्यै
बुद्धिमान् ती हुन् जसले मृत्युलाई पनि मित्र बनाउँछन्

मुक्तक ३
जता मिथ्याको लहरो बेरिन्छ मानव त्यतै मोहित हुन्छ
रविले झैं आफ्नै ज्योतिले चम्के पो जगत्‌को हित हुन्छ
ज्ञान गङ्गा स्वयम्‌मा बग्छ बाहिर कुवा खोतल्दै हिँड्छौं
समयमा नियाल्न नसके आफैँबाट सत्य तिरोहित हुन्छ

मुक्तक ४
हुनलाई त आफ्नै घरभित्र दही,मही हुन्छ पानी हुन्छ
करुणाको ज्वाला फैलिएर मनको तृष्णा खरानी हुन्छ
अरूको घरमा आगो झोसेर नदी छेक्न जान्छन् कोही
कसैको अरूलाई तृप्त हुँदा देखेर तृप्त हुने बानी हुन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय