प्रकाश खनाल
छत्रदेव ४
अर्घाखाँची

मुक्तक १
व्यथा, बाधा, हैरानी सबै सुनाएँ
बेहोर्नुपरेको नोक्सानी सबै सुनाएँ
कसैले सोध्यो म सफल हुनुको कारण
मैले असफलताका कहानी सबै सुनाएँ

मुक्तक २
देख्दा सत्य लागेका कतिपय कुराहरू कृत्रिम हुन्छन्
निकै कम कुराहरू छन् जुन अपेक्षा गरेबमोजिम हुन्छन्
भ्रम नै भ्रम बीचको वास्तविकता जिन्दगी हो यथार्थमा
‘अत्यावश्यक’ कुराहरू भित्रै जिन्दगीका जोखिम हुन्छन्

मुक्तक ३
आफैले आफ्नै बारे चिन्तन,मनन र अध्ययन गर्नुपर्छ
जीवनको सार प्राप्त गर्न ज्ञानको सागर मन्थन गर्नुपर्छ
‘शरीर’ मात्रै मानव होइन, त्यो मानवको भौतिक रूप हो
मानव बन्न त ‘ज्ञानेन्द्रिय’लाई ‘ज्ञान’ले प्रतिस्थापन गर्नुपर्छ

मुक्तक ४
कहिलेकाहीँ आफै पछाडि पर्नुपर्छ अरूकै निम्ति
जोखिम कदम चाल्न अगाडि सर्नुपर्छ अरूकै निम्ति
शिखरमा पुग्न, नाम राख्न सजिलो छैन जिन्दगीमा
काम गर्नुपर्छ अरूकै निम्ति त्याग गर्नुपर्छ अरूकै निम्ति

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय