काठमाडौं । साहित्यकार रञ्जना निरौलाको नयाँ निबन्धसंग्रह ‘अनूभुतिको अवतरण’ बजारमा आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा प्रमुख अतिथि डा. वासुदेव त्रिपाठीले देवकोटाले दिएको निबन्धको उचाइसम्म पुग्न कोही पनि नसकेको बताए । उनले ‘अनुभूतिको अवतरण’ निबन्ध जगतमा शुभसंकेत भएको जिकिर गरे । उनले भने, ‘प्रत्येक अनुच्छेदका अन्त्य सुक्तिमय भएर टुंगिएका छन् । चालिस वर्ष पाठ्यक्रम निर्माणका क्रममा बसेँ, थुप्रै निबन्धसंग्रह हेर्दा दुइटा सुक्ति भेटिन पनि गाह्रो हुन्थ्यो । यो निबन्धसंग्रह सुक्तिमय छ । हरेक अनुच्छेदमा सुक्ति भेटिन्छ ।’ डा.त्रिपाठीले कविताबाट प्रारम्भ भएको निबन्धभित्र विचार, स्वैरकल्पना नभएको कथा, यथार्थ, दर्शन लगायतका विषय रहेको बताए ।

सो कार्यक्रममा समीक्षक डा. ज्ञानु पाण्डेले दर्शन, विचार र यथार्थको कलात्मक संगमको रुपम निबन्धकृति आएको बताइन् । उनले संग्रहले समसामयिक सन्दर्भलाई समेत कलात्मक ढंगले उठान गरेको सुनाइन् । यस्तै, डा.रामप्रसाद ज्ञवालीले सौन्दर्यप्रधान, दर्शन र आध्यात्मको त्रिवेणीमा परिपक्व अनुभूतिका अभिव्यक्ति निबन्धमा रहेको बताए । उनले निबन्धमा स्रष्टाले कला र विचारलाई आकर्षक रुपमा उनेको जिकिर गरे । कार्यक्रममा डा.सावित्री मल्ल कक्षपतिले निबन्ध यथार्थपरक रहेको जनाउँदै आगामी दिनमा स्रष्टाले अझ गहकिलो लेखन ल्याउने विश्वास राखेको बताइन् । साहित्यकार रञ्जना निरौलाले आफूले अनुभूत गरेका जीवन र जगतका विविध पाठालाई निबन्धका रुपमा प्रस्तुत गरेको बताइन् । उनले संग्रहमा विभिन्न विषय र सन्दर्भलाई चित्रण गरिएको सुनाइन् ।

राष्ट्रिकोका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरे, साहित्यकार सुमन वर्षा लगायतले निबन्धसंग्रहका बारेमा चर्चा गरे । शिखा बुक्सका पुष्पराज पौडेलले संग्रहमा निकै बोधगम्य निबन्ध रहेको बताए । उनले प्रकाशित संग्रहले नेपाली निबन्धमा नयाँ बहसको आरम्भ गर्ने जिकिर गरे । शिखा बुक्सले प्रकाशन गरेको उक्त संग्रहको मूल्य ३५० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय