
मकवानपुर । पत्रकार लक्ष्मण बजगाईंद्वारा लिखित पुस्तक श्रमशक्ति व्यवस्थापन मंगलबार हेटौडामा एक कार्यक्रमका बीच विमोचन गरिएको । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले सो पुस्तक विमोचन गरेका हुन् । सो अवसरमा पुलामीले लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील बजगाईंले लेखेको सो पुस्तक पठनयोग्य भएको र दस्तावेज रुपमा रहिरहने बताए ।
श्रम बजारमा श्रमिकहरुको लागि पुस्तक निकै उपयोगी रहने बताउदै उनले प्रदेश सरकारलाई नीति निर्माणमा यसले सहयोग पर्र्याउने समेत बताए । पुस्तक पढेर श्रम शक्ति के हो, यसका समस्या के के हुन् भन्ने विषयमा जानकारी प्राप्त गर्न सकिने सबैले सो पुस्तक अध्ययन गर्नुपर्नेमा पुलामीले जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले बजारमा आएको श्रम शक्ति व्यवस्थापन पुस्तकको अध्ययनले विभिन्न कार्यमा संलग्न श्रमिकहरुको दक्षता, शारिरिक, प्राविधिक तथा बौद्धिक क्षमताको विकास हुने बताए ।
यस्तै शिक्षक, साहित्यकार, समाजसेवी रामचन्द्र आचार्य फुर्सतीले पुस्तकबारे समीक्षा गर्दै यो पुस्तक राज्यका लागी पनि अभिलेखका रुपमा रहने उल्लेख गरे । उनले पुस्तकबारे गहन बहस चलाउनु आवश्यक रहेको औल्याए । भाषागत रुपमा भएका कमि कमजोरी बाहेय यसले आम श्रमिकहरुको आवाज बोलेको उनले बताए ।
कार्यक्रममा पुस्तकका लेखक बजगाईंले १६ औँ पुस्तकका रुपमा यो पुस्तक बजारमा ल्याएको बताउँदै यसले श्रमिकका आवाज बोलेको बताए । उनले पुस्तकमा श्रमसम्बन्धी बहुआयामिक प्रसंगहरु उठान गरिएकोले सबैलाई अध्ययन गर्न आग्रह गरे । पुस्तक रोजगारीको अवसर कुरिरहेका बेरोजगारीहरुका लागि तयार भएकोसमेत उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, प्रकाशक कृष्णप्रसाद कंडेललगायतको उपस्थिति रहेको थियो ।