
काठमाडौं । शिवपुरी साहित्य समाजको आयोजनामा हिजो वैशाख १५ गते शनिवारका दिन गुन्द्रुक-मकै-भटमास कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ। समाजका अध्यक्ष विष्णुबहादुर सिंहको सभापतित्व तथा सबैका प्रिय नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यमा टोखास्थित चण्डेश्वरी मन्दिरको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा अर्गानिक गुन्द्रुक,मकै र भटमासको खाजाको व्यवस्था गरिएको थियो ।
समाजका संरक्षक साहित्यकार वियोगी बुढाथोकीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा पुष्पा साहित्यिक पत्रकारिता सम्मानबाट शशि पन्थी, शिवपुरी विष्णु कृष्ण स्रष्टा सम्मानबाट नरप्रसाद धिताल, शिवपुरी नरबहादुर भारती सम्मानबाट राजकुमार बानियाँ, शिवपुरी गौरी कार्की मुक्तक सम्मानबाट दुर्गाकिरण तिवारी, शिवपुरी गजल सम्मानबाट गणेशबाबु अधिकारी तथा शिवपुरी मानशोभा प्रतिभा सम्मानबाट किरण पन्थी सम्मानित तथा पुरस्कृत भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नगेन्द्रराज शर्माले आफ्नो मन्तव्यमा कार्यक्रम औपचारिक,अनौपचारिक जे भए पनि आत्मीय भएको बताउँदै प्रकृतिको नजिक रहेर साहित्यिक कार्यक्रम आयोजना हुनु आफैमा एउटा गतिलो कार्य भएको बताए।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै विष्णुबहादुर सिंहले समाजका गतिविधिमाथि संक्षेपमा प्रकाश पारेका थिए। सम्मानित व्यक्तित्वहरू राजकुमार बानियाँ, किरण पन्थी तथा गणेशबाबु अधिकारीले पनि आ-आफ्ना मन्तव्य राखेका थिए। त्यसदेखि बाहेक करिब तीन दर्जन कवि तथा कवयित्रीहरूले रचना वाचन गरेका थिए।
रचना वाचन गर्नेहरूमा ➽ लव खड्का, शम्भु गजुरेल, बद्री उप्रेती, सरस्वती अर्याल, रोमा लम्साल, अमर अधिकारी, अरूण नदी खत्री, कमला देवकोटा, रामेश्वर के.सी., विष्णुकुमारी के.सी., केशवप्रसाद रूपाखेती, माया बस्नेत थापा, पार्वती अधिकारी, मनु शर्मा, विकल त्यागी, नरप्रसाद धिताल, वासुदेव ठकुरी, रिता खत्री, उत्तम विचार, दीपक लोहनी, नवराज पुडासैनी’ज्योत्सना’, रूपक वनवासी, कृष्णदेव रिमाल, जीत कार्की, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, विजयध्वज थापा, दुर्गाकिरण तिवारी, राजेन्द्र भट्ट, प्रमोद नेपाल, रामबहादुर पहाडी, राजेन्द्र घिमिरे, विमुन्स पौडेल, गणेशबाबु अधिकारी, सुरेशकुमार भट्ट तथा गुप्तबहादुर श्रेष्ठ लगायत रहेका थिए ।
शिवपुरी साहित्य समाजको सोह्रौँ तथा शिवपुरी सन्देशको तीसौँ वार्षिकोत्सवका अवसरमा हिजो आयोजित उक्त कार्यक्रममा शिवपुरी सन्देशको १०३ अङ्कको विमोचन गर्नुका साथै समाजका सदस्यहरूलाई विशिष्ट सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको थियो।
प्रा.डा.गोविन्दमान सिंह कार्कीको एकल मूल्याङ्कन समितिले वाचन गरिएका रचनाहरूमध्येबाट ‘प्रिय इज्जत’ शीर्षकको कवितालाई पुरस्कृत गर्ने निर्णय गरे बमोजिम समाजका संरक्षक वियोगी बुढाथोकीले रचनाकार पार्वती अधिकारीलाई आफ्नो तर्फबाट रू १०००/- नगद रकम प्रदान गरेका थिए।
त्यसपछि समाजका उपाध्यक्ष शङ्कर भारतीले कार्यक्रम ज्यादै भव्य र सभ्य रहेको बताउँदै उपस्थित सबैमा धन्यवाद ज्ञापन गरेका थिए।
दुई चरणमा सञ्चालित कार्यक्रमको सञ्चालन एच.के.धिताल तथा प्रज्वल अधिकारीले गरेका थिए।