काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले नेपालको संविधान निर्माण प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र संविधानमा कसरी समावेश गरियो भन्नेबारे राजनीतिक नेतृत्वसँग जवाफ मागेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खत्रीले संविधान जारी हुँदाका तत्कालीन राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका अभिव्यक्तिलाई समेत आधार बनाउँदै संविधान निर्माण प्रक्रियाको पारदर्शितामाथि प्रश्न गरेका हुन्।

खत्रीले तत्कालीन राष्ट्रपति यादवको ‘खुसी भएर संविधान जारी गरेको होइन, संवैधानिक बाध्यताले हस्ताक्षर गरेँ’ भन्ने भनाइ स्मरण गरेका छन्। त्यस्तै, तत्कालीन प्रधानमन्त्री कोइरालाले ‘संविधानमा धर्मनिरपेक्षता भएको मलाई पत्तै भएन’ भनेको अभिव्यक्तिसमेत उनले उद्धृत गरेका छन्।

संविधानसभाले जनताबाट संकलन गरेको करिब दुई लाख लिखित राय–सुझावलाई उचित रूपमा सम्बोधन नगरिएको आरोप पनि खत्रीले लगाएका छन्। जनताबाट सुझाव संकलन गरे पनि त्यसलाई प्रभावकारी रूपमा उपयोग नगरी संविधान जारी गरिएको उनको दाबी छ।

नेपालमा हिन्दु धर्मावलम्बीको ठूलो जनसंख्या रहेको उल्लेख गर्दै उनले संविधानमा धर्मनिरपेक्षता समावेश गर्ने निर्णय कसरी भयो भन्ने प्रश्न गरेका छन्।

खत्रीले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘८१ प्रतिशत हिन्दु देशको संविधानमा धर्मनिरपेक्षता घुसाउने गिरोहमा को–को थिए ? अब कसले जवाफ दिन्छ ?’

त्यसैगरी, धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र ‘चोरबाटोबाट’ संविधानमा ल्याइएको आरोप लाग्दा त्यसको चित्तबुझ्दो जवाफ दिने नैतिक धरातल कससँग छ भन्ने प्रश्न पनि उनले गरेका छन्।

खत्रीको अभिव्यक्तिले संविधान निर्माण प्रक्रियामा जनताको राय–सुझावको भूमिका तथा धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र संविधानमा समावेश गर्ने राजनीतिक प्रक्रियाबारे नयाँ बहस निम्त्याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय