काठमाडौं । गायक तथा संगीतकार विनोद ढकाल र गायिका अस्मिता अधिकारीको स्वर रहेको ‘सुन सानो कथा’ गीत सार्वजनिक भएको छ । गायक ढकालकै शब्द तथा संगीत रहेको गीतको भिडियो राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । सो अवसरमा भिडियो निर्माण टिम, अभिनेता आर्यन सिग्देल, मोडल रोजी पन्त लगायतको उपस्थिति रहेको थियो । मोडल रोजीले यसअघि केही गीति भिडियोमा अभिनय गरेकी छन् भने उनी अभिनीत चलचित्र ‘पर्पला’ प्रदर्शनको तयारीमा छ ।
एम्सन इन्टरटेन्टमेन्ट र ओएमजी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको भिडियोको निर्देशन जनकदीप पराजुलीले गरेका हुन् । अमर रसाइलीको कन्सेप्टमा बनेको भिडियोमा निर्देशक जनकदीप र आर्यनले १८ वर्षपछि सँगै काम गरेका छन् । उनीहरुले १८ वर्षअघि ‘घाँस काट्ने’ खुर्केर बोलको रिमिक्स गीतमा सँगै काम गरेका थिए । गीतको संगीत संयोजन प्रमोद परियारले गरेका हुन् । अभिनेता सिग्देल र मोडल रोजी फिचर्ड भिडियोको निर्माता सरस्वती गौतम, सृजना ल्वागुन र भिमराज रसाइली रहेका छन् ।

अमर रसाइली प्रस्तुतकर्ता रहेको भिडियोमा मायाप्रेममा बिछोडको कथालाई देखाइएको छ । भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता आर्यनले सुन सानो कथामा आफ्नो कथा व्यक्त गरिएको र सबैको मनमा रहेको पीडा र व्यथालाई काल्पनिक रुपमा प्रस्तुत गरिएको बताए ।

