काठमाडौं । समाजमा रहेको जातीय विभेद अन्त्य गर्ने उद्देश्यका साथ लघुचलचित्र प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जातीय विभेद विरुद्धको लघुचलचित्र ‘द बास्केट’ उत्कृष्ट भएको छ । नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडिपीसँगको सहकार्यमा गरेको उक्त प्रतियोगितामा ‘द बास्केट’ उत्कृष्ट बन्दै दुई लाख नगद पाउन सफल भएको छ । चलचित्र विकास बोर्डमा भएको कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।

प्रतियोगितामा ५६ चलचित्रमध्ये २० चलचित्रलाई आयोजकले सामाजिक सञ्जालमा उपलब्ध गराएको थियो । दर्शकले समेत मत दिन पाउने गरी आयोजना गरिएको प्रतियोगितामा दर्शकको ५० प्रतिशत अंकभार र निर्णायकको ५० अंकभार जोडी चार बिजेता छानिएको हो । निर्णायकले सर्ट लिस्ट गरेका २० चलचित्रमध्येबाट सुरेन्द्र प्रजापतिको ‘शून्य’ दोस्रो, राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’ तेस्रो र शर्मा क्रिएसनको ‘अछोप’ ले सान्त्वना पुरस्कार पाउन सफल भए ।

आयोजकले बिजेता चार चलचित्रसँगै निर्णायकले छानेका १६ चलचित्रका सहभागीलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरे । निर्देशक समाज र युनडिपीले जातप्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा तीन मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने गरी गए डिसेम्बरमा प्रतियोगिता आयोजनाको सूचना प्रकाशित गरेका थिए । उक्त प्रतियोगितको निर्णायकमा कानुन न्याय, तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव फणीन्द्र गौतम, निर्माता/निर्देशक तथा अग्रज कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडिपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल रहेका थिए । निर्णायक मण्डलले प्राप्त ५६ चलचित्रबाट २० वटा चलचित्र छानेका थिए । प्रतियोगितामा दोस्रो हुने चलचित्रले एक लाख ५० हजार, तेस्रो हुने चलचित्रले ५० हजार र चौथोले २५ हजार रूपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय